नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको छैठौं वार्षिक साधारणसभा शनिबार धनुषाको लालगढस्थित गौतम होटलमा सम्पन्न भएको छ ।

महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख क्षेत्रीले होटल तथा पर्यटन क्षेत्र मधेश प्रदेशकै आर्थिक विकास र रोजगारी सृजनाको महत्वपूर्ण आधार बन्न सक्ने बताए । पर्यटन विकासका लागि निजी–सार्वजनिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय तह पनि पर्यटन प्रवद्र्धनमा साझेदार बन्ने प्रतिबद्धता जनाए ।

यसैगरी, महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले होटल तथा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न घुमौ मधेश बुझौ प्रदेश मार्फत पर्यटकिय गन्तब्यहरुको पहिचान गरीएको उल्लेख गरे । उनले प्रदेश तथा स्थानिय स्तररका समन्वयलाई अझ प्रभावकारी बनाउन महासंघ सक्रिय रहेको जानकारी दिए ।
उनले पर्यटन पूर्वाधार विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा आन्तरिक–बाह्य पर्यटक आकर्षणलाई प्राथमिकतामा राखेर महासंघले ८ वटै जिल्लामा काम गरिरहेको बताए ।
साधारणसभामा महासंघका पदाधिकारी, होटल तथा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




