जनकपुरधाम – प्रदर्शनका क्रममा जनकपुरधामका सरकारी अड्डामा आगजनी र तोडफोड भएपछि नागरिकले दैनिक पाउने सेवा अनिश्चित बनेको छ । स्थानीय सरकारसँग प्रत्यक्ष जोडिएका कार्यालय, कम्प्युटर, इन्टरनेट सेवा र फाइलहरू नष्ट हुँदा तत्काल सेवाप्रवाह ठप्प भएको हो । भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जाल नियन्त्रणको मागसहित सुरु भएको आन्दोलनमा जनकपुरधाममा मात्रै दर्जनभन्दा बढी सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, विभिन्न पार्टीका कार्यालय, सार्वजनिक तथा व्यावसायिक भवन तथा नेताहरूका घरमा समेत आगजनी गरिएको छ । क्षतिको एकिन विवरण सङ्कलन भइरहेको भए पनि प्रारम्भिक अनुमान अनुसार अरबौंको क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार कार्यालयमा रहेका कम्प्युटर, कुर्सी, टेबल, फाइल र दस्तावेजहरू पूर्ण रूपमा नष्ट भएका छन् । आगजनीको कारण जनकपुरधामका सबै सरकारी कार्यालय खण्डहर बनेका छन् । यस अवस्थाले सामान्य नागरिकले पाउने सेवा अनिश्चित बनेको अधिकारीहरूको भनाइ छ ।




जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका अनुसार उपमहानगरपालिकाका काे प्रशासनिक भवनमा तोडफोड र आगजनी हुँदा सबै भवन नै खण्डहरमा परिणत भएको छ । उनले भने ,” कसरी कहाँबाट के काम थाल्ने हो, सोच्न सक्ने अवस्था नै छैन । एउटा कुनै पनि कागजात र अभिलेख केहि बाँकी नै छैन ।”




