जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री सहित मन्त्रीहरु फिर्ता बोलाएको छ ।
शनिबार संसदीय दलको नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरु मधेश सरकारबाट फिर्ता बोलाएको जानकारी दिनुभएकाे छ । उहाँले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको जानकारी दिनुभयो । यद्यपी सरकारको नेतृत्व नै आफ्नै दलले गरिररहेकोमा सर्मथन फिर्ताको खासै मतलब रहेन ।
सरकारमा जनमत पार्टीबाट वन तथा वातावरण मन्त्रालयमा सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारीमा बसन्त कुशवाहा रह्नु भएको थियो।
मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।
गएको सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकमै राजीनामा दिनुभएको थियो तर प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिनु भएन । सोही राजिनामाको सन्दर्भमा आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएपछि पुनः जनमत पार्टीको आलोचना सुरु भएको थियो ।
मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा थिए ।





