महोत्तरी - महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही प्रहरी चौकीमा कार्यरत प्रहरीहरू पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्।

गत सोमबार र मंगलबार (भदौ २३ र २४) जेनजी समूहले घोषणा गरेको आन्दोलनपछि उत्पन्न असुरक्षा कारण उक्त चौकीमा कार्यरत सबै प्रहरीहरू बाहिरिन बाध्य भएका थिए। जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दामा देशभर प्रदर्शन गरेका थिए। सो क्रममा देश भरि बिभिन्न कार्यालयहरुमा तोडफोड र आगजनी भएको थियो। स्थिति सामान्य भएपछि प्रहरीहरू पुनः औरही प्रहरी चौकीमा फर्किन थालेका हुन्।

प्रहरीहरूलाई औरहीका जेनजी पुस्ताका युवा तथा संयोजक भास्कर झा, औरही नगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष सुशील साह, पूर्व औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण चौधरी, वडा सदस्य, व्यापारी तथा स्थानीयवासीहरूले स्वागत गरेका छन्।








