महोत्तरी – महोत्तरीको औरही नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिक स्थल सोनामाई मन्दिरमा यस वर्ष दशैंको घटस्थापनाको अवसरमा पहिलो पटक ऐतिहासिक कलश शोभा यात्रा निकालिएको छ।
विश्व शान्ति, मानव कल्याण र धार्मिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको उक्त यात्राको उद्घाटन औरही नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार खड्का, नगरउपप्रमुख रेणु झा र वडा अध्यक्षहरूले संयुक्त रूपमा गरेका थिए।




सोनामाई शक्तिपीठमा वर्षौँदेखि भूत मेला लाग्ने परम्परा छ। यस वर्ष पहिलो पटक करिब ४ हजार कलशसहितको ऐतिहासिक शोभा यात्रा निस्किएको हो।औरही नगरपालिका तथा स्थानीयवासीको संयुक्त प्रयासमा दशैंको घटस्थापनाको दिन यो विशेष कलश शोभा यात्रा आयोजना गरिएको हो।

यो पवित्र यात्रा औरही नगरपालिका–२ स्थित फूलबरिया गाउँको जंघाहा खोलामा वेतो, पचाइन र जङ्गा खोलाको संगमस्थलबाट प्रारम्भ भई सोनामाई मन्दिरसम्म पुगेको थियो।
नगरप्रमुख खड्काले यस शोभा यात्राले नगरवासीबीचको एकता, सांस्कृतिक धरोहर र धार्मिक मूल्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार सोनामाई मन्दिर नगरको आस्था, विश्वास र सांस्कृतिक सम्पदाको केन्द्र हो र कलश शोभा यात्राले नगरको धार्मिक एवं सांस्कृतिक इतिहासमा नयाँ अध्याय थप्नेछ।
कलश शोभा यात्रामा महिलादेखि पुरुष, बालबालिकादेखि वृद्धवृद्धासम्म हजारौँ भक्तजन सहभागी भएका थिए।स्थानीय समाजसेवी, धार्मिक अगुवा, जनप्रतिनिधि, सुरक्षाकर्मी, नगरप्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूका अनुसार यसरी सम्पन्न कलश शोभा यात्राले औरही नगर र आसपासका क्षेत्रमा उत्साह, उल्लास र धार्मिक आस्थाको नयाँ ऊर्जा भरिदिएको छ।
सोनामाई मन्दिरको धार्मिक र ऐतिहासिक महत्व
महोत्तरीको औरही नगरपालिका वडा नं. ७, भोइलमा अवस्थित सोनासती महरानीको मन्दिर ‘सोनामाई मन्दिर’को नामले प्रचलित छ।जिल्लाकै महत्वपूर्ण धार्मिक स्थलको रूपमा रहेको यो मन्दिर वर्दीवास–जलेश्वर राजमार्गको बीचमा पर्दछ। सदरमुकाम जलेश्वरबाट करिब २३ किलोमिटर उत्तरमा रहेको मन्दिरमा विशेषगरी भूत–प्रेत, पिशाच, दुष्ट आत्मा तथा बोक्सीबाट पीडित व्यक्तिहरूलाई झारफुक तथा तान्त्रिक विधिबाट उपचार गरिने विश्वास छ। साथै, सन्तान नपाएका भक्तहरूले सन्तान प्राप्ति हुने जनविश्वासका कारण दैनिकजसो यहाँ पूजा–पाठ, आराधना र बलि दिने परम्परा रहँदै आएको छ।

सोनासती महरानीको उत्पत्तिसम्बन्धी कथा अनुसार करिब पाँच सय वर्षअघि हाल मन्दिर रहेको स्थान पुरै जंगल थियो। गाई–भैंसी चराउन आउने मानिसहरूलाई यहाँ अनौठो अनुभव हुने र भैंसी हराउने घटनापछि सोनासती महरानी मानव रूपमा प्रकट भई पूजा–पाठको शर्त राखेकी थिइन्। त्यसबेलादेखि निरन्तर पूजा–आराधना हुँदै आएको छ। पछि यहाँको मूर्ति ‘कहचरीया स्थान’ भन्ने पुरानो सिसौंको रुखको टोड्काबाट ल्याई हालको स्थानमा स्थापना गरिएको हो। अहिले नयाँ संरचना बनेको मन्दिरमा दैनन्दिन पूजा–आरती भइरहेको छ।
दशैंमा विशेष पूजा र भूत मेला
नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरमध्ये एक मानिने यो शक्ति पिठमा प्रत्येक वर्ष वडादशैंको शुभ अवसरमा घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा, आराधना र मेला लाग्ने गर्दछ। घटस्थापनाको दिन बिहानै ‘डाला’ (धुप, दीप, अक्षता, कलश आदि)सहित मन्दिरमा कलश स्थापना गरिन्छ र नवरात्रको सुरुवात हुन्छ। सप्तमीको दिन विभिन्न स्थानबाट आएको फूलपाती मन्दिरमा भित्राइन्छ। अष्टमीको दिन बोकाको बलि, घृत–सिन्दुरले माताको सजावट, नवमीमा राँगाको बलि र दशमीमा परम्परागत वाजागाजासहित मन्दिरबाट पुजारीको घरमा ‘डाला’ लगेर मेलाको समापन गरिन्छ।

दशैंको चौथीदेखि अष्टमीसम्म ‘भूत मेला’ लाग्ने गर्दछ। यस अवधिमा भूत–प्रेत, पिशाच वा दुष्ट आत्माबाट पीडित ठानिएका व्यक्तिहरू मन्दिर परिसरमा आएर पुजारीमार्फत मन्त्र, तन्त्र, जन्तर तथा आयुर्वेदिक उपचार पाउँछन्। मेलाको दशौँ दिनसम्म हजारौँको संख्यामा बलि दिने परम्परा पनि रहँदै आएको छ।
धार्मिक पर्यटनको सम्भावना
सोनामाई मन्दिर परिसरमा शिव र पार्वती,गणेश,राजदेवी,सरस्वती,लगायतका देवी–देवताको मूर्तिसहित तपसी बाबाको धुनी रहेको छ, जहाँ चौबीसै घण्टा आगो बलिरहन्छ। धार्मिक र ऐतिहासिक महत्व बोकेको यो मन्दिर क्षेत्र भौगोलिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यसको संरक्षण र विकास भएमा धार्मिक पर्यटक आकर्षित गर्न सकिने र क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना स्थानीयवासीले व्यक्त गरेका छन्।
यस वर्ष सोनामाई भूत मेलामा करिब १५ लाख भक्तजन सहभागी हुने अनुमान सोनामाई पूजा समितिले गरेको छ।































