जनकपुरधाम- देशैभर दशैँको उल्लास छाएको बेला मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा पनि पर्वको रौनक शुरु भएको छ । दशैँको पहिलो दिनदेखि नै यहाँका शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ ।
जनकपुरधामको धार्मिक आस्थाको केन्द्र मानिने राजदेवी मन्दिर यस वर्ष विशेष सजावटमा झलमल्ल देखिएको छ । रंगीन बत्ती, फूलमाला र आकर्षक सजावटले मन्दिरलाई पर्वको अवसरअनुरूप भव्य बनाएको छ ।
दशैँमा राजदेवी मन्दिरको विशेष महत्त्वका कारण पूजापाठ र दर्शनका लागि भक्तजनको लामो घुइँचो लागेको छ ।
त्यस्तै बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका अन्य शक्तिपीठहरूमा पनि श्रद्धालुको उपस्थिति अनुसार विशेष सिंगार गरिएको छ । प्रत्येक मन्दिरमा परिवारसहित दर्शनमा आएका भक्तजनहरूले धार्मिक वातावरणलाई अझ उत्साहपूर्ण बनाएका छन् ।
धनुषा प्रहरीले ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । मुख्य धार्मिक स्थलहरूमा सीसी क्यामेरा जडान गरिएको छ भने अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी जनकपुरधामसहित सम्पूर्ण जिल्लामा सतर्कता कायम गरिएको छ ।
धार्मिक आस्था, संस्कृतिको धरोहर र पर्वको उल्लास मिसिएको यस वातावरणले जनकपुरधामलाई अझ रंगिन र आकर्षक बनाएको छ । प्रहरी र स्थानीय व्यवस्थापनका अनुसार दशैँको अवधिभर यहाँ आउने भक्तजनको संख्या लगातार बढ्ने अनुमान गरिएको छ ।


