महोत्तरी - महोत्तरीको गौशालाबाट बनाउदै गरेको अवस्थामा ठूलो परिमाणमा अवैध घरेलु मदिरा, कच्चा पदार्थ सहित भाडाकुडाहरू नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका–८, बेलगाछीबाट छापा मारि १०० लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १,००० लिटर नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक रमेश लामाको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय टिका जर्घा मगर र अर्का एक नाम नखुलेको व्यक्तिको घरमा छापा मारेको थियो। घरको आँगनमा मदिरा उत्पादन भइरहेको अवस्थामा प्रहरीले सो परिमाणको रक्सी र कच्चा पदार्थ नियन्त्रणमा लिएको हो।
प्रहरीले मदिरा बनाउन प्रयोग हुने चार सेट भाँडाकुँडा र अन्य सामग्रीहरू पनि नियन्त्रणमा लिएको छ। बरामद गरिएका सबै सामग्रीहरू आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याइएको छ।
प्रहरी निरीक्षक लामाले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताए। उक्त स्थान इलाका प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिम-उत्तर दिशामा पर्दछ।




