जनकपुर — मिथिलाको परम्परागत पहिरनलाई जगेर्ना गर्ने र यसको प्रचार–प्रसार गर्ने उद्देश्यसहित युवाहरूले जनकपुरधाममा ‘सांस्कृतिक पहिरन अभियान’ सुरु गरेका छन्। शनिबार गंगासागरमा भेला भएका युवायुवतीहरूले धोती, कुर्ता र सारी लगाएर जानकी मन्दिरसम्मको यात्रा गर्दै अभियानको औपचारिक सुरुवात गरेका हुन्।

अभियानका अगुवा मोहन महतो कोइरीका अनुसार पछिल्लो समय युवामाझ धोती–कुर्ताप्रति बढ्दै गएको वितृष्णा कम गर्न र यसलाई गर्वका साथ धारण गर्ने वातावरण सिर्जना गर्न अभियान आरम्भ गरिएको हो।
उनका अनुसार मिथिलाको परम्परागत वस्त्र केवल पहिरन नभई सम्पूर्ण सांस्कृतिक पहिचानको प्रतीक हो। युवायुवतीहरूले आफूहरूलाई मिथिलाको संस्कृति जोगाउने जिम्मेवारीसहित यो अभियानमा संलग्न गराएको बताए।
कार्यक्रमपछि सहभागीहरू मैथिली विकास कोषको भवनमा पुगेका थिए, जहाँ परम्परागत पहिरनको संरक्षण, यसको आकर्षक प्रवर्द्धनका उपाय र आगामी गतिविधिबारे छलफल गरिएको थियो।




