सुजाता राई
मोरङ । आजकल महँगा होटल र रेस्टुरेन्टमा जन्मदिन मनाउने चलन बढ्दो छ, तर बेलबारीका डिल्लीबहादुर थापाले भने आफ्नाे ९३ औँ जन्मोत्सव असहाय बालबालिकासँग बसेर मनाएका छन्।
पूर्व जनप्रतिनिधि समेत रहेका थापाले सुनसरी, इटहरी–४ मा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग आत्मीयता बाँड्दै जन्मोत्सव मनाएका हुन्।
१९९० साल असोज २८ गते शुक्रबार ओखलढुंगाको तत्कालीन पोखरे गाविस–२ (हालको चिसङ्कुगढी गाउँपालिका–२) मा जन्मिएका थापा पछिल्लो समय बेलबारी–२, लालभित्तीमा काइँला छोरा हेमराज थापासँग बस्दै आएका छन्। राजनीतिमा सक्रिय रहँदै उनले साबिकको हरैँचा गाउँ पञ्चायतमा उपप्रधानपञ्चको जिम्मेवारी समेत सम्हालेका थिए।
जन्मोत्सवको अवसरमा भेटिएकी काइँली बुहारी एलिजा थापाले भनिन्, “बुवाले लामो समयसम्म समाजसेवा गर्नुभयो। पछिल्ला वर्षमा अस्वस्थ रहँदा घरमै आराम गरिरहनु भएको छ। आमा बितेपछि उहाँ केही एक्लो महसुस गर्नुभएको थियो, त्यसैले यस वर्ष बालबालिकासँग जन्मोत्सव मनाउने योजना बनाएका हौँ।”
साहित्यकार केशु विरहीले थापाको जन्मोत्सवलाई प्रेरणादायी कदमका रूपमा लिँदै भने, “यसले अन्य ज्येष्ठ नागरिकहरूलाई पनि समाजप्रेम र मानवतामा जोडिने सन्देश दिन्छ।”
बालबालिकाको क्षेत्रमा लामो समयदेखि सक्रिय नवराज पोखरेलले भने, “अनाथ बालबालिकाप्रति थापाज्यूको माया सधैं देखिन्छ, आजको यो कार्यक्रम त्यसको उदाहरण हो,” भने।
निसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गीता गौतमले पनि यस्ता सामाजिक व्यक्तित्वले आफ्नाे जन्मदिन आश्रममा मनाउनु सकारात्मक सन्देश भएको बताइन्।
उक्त अवसरमा थापाको परिवारले संस्थालाई आर्थिक सहयोग समेत गरेको थियो।





