महोत्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार सांसद कुशवाहाले विकास कोषको रकमबाट करिब ३७ प्रतिशतसम्म कमिसन आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको आरोप लागेको छ । पूर्वगृहराज्यमन्त्रीसमेत रहेका उनी यसअघि पनि सोही मुद्दामा पक्राउ परेर तारेखमा छुटेका थिए ।
अख्तियार स्रोतका अनुसार विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि कुशवाहालाई पुनः पक्राउ गरिएको हो ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा अख्तियारले जेठ १२ गते छापा मारेको थियो । सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरिएको थियो ।
छापामारीका क्रममा अनुसन्धान टोलीले विभिन्न योजनासम्बन्धी कागजात तथा मोबाइल फोन बरामद गरी डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको थियो । सांसद कुशवाहा यसअघि जेठ २० गते काठमाडौंको अनामनगरबाट पनि पक्राउ परेका थिए ।




