महोत्तरी - धनत्रयोदशी अर्थात् धनतेरस पर्वको अवसरमा महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा छुट्टै रौनक छाएको छ ।आज बिहानैदेखि बजारमा किनमेल गर्नेको भीड देखिएको छ ।

हरेक चाडपर्वमा जस्तै यसपटक पनि औरही बजार तथा बजारभित्र जाने सडक क्षेत्रमा अस्थायी बजार लागेको छ । उक्त बजारले चाडपर्वको माहोललाई अझै उत्साहपूर्ण बनाएको स्थानीयले बताएका छन् ।धनतेरसका दिन चरेशका भाँडाबर्तन, कुचो, नुन र सुनचाँदी किनमेल गर्न शुभ मानिने चलन रहेको छ । त्यसकै कारण आज बजारमा यस्ता वस्तु खरिद गर्नेको भीड देखिन्थ्यो ।

औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले प्रत्येक चाडपर्वमा औरही बजारमा यस्तो भीडले स्थानीय व्यापारिक गतिविधिलाई बढाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वका बेला बजारको मुख्य सडकमा पसलहरू सर्ने चलनले व्यापारीहरूलाई बिक्रीमा सहयोग पुर्याउँछ र बजारमा चहलपहल बढाउँछ।”

उपभोक्ता रामब्रण मण्डलले पनि बजारमा आवश्यक सामग्री सहजै पाइने बताउँदै भने,“धनतेरसमा भाँडाकुँडा, कुचो र सुनचाँदी किन्दा राम्रो हुन्छ भन्ने चलन अनुसार आज किनमेल गर्न आएका हौं, बजारमा रमाइलो माहोल छ।”

महोत्तरीका विभिन्न स्थानबाट सामान किनमेल गर्न आएका सर्वसाधारणले बजारमा उत्सवको माहोल अनुभव गरेको बताएका छन् । चाडपर्वको बेला औरही बजारको बीच सडकमा बजार लाग्ने परम्परा रहिआएको छ ।

जुन चाड नजिकिन्छ, त्यसअनुसारका सामान बिक्रीका लागि राख्ने गरिन्छ ।





