जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट घटनाप्रति चासो व्यक्त गर्दै सुरक्षा निकायलाई दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएका छन् ।
शनिबार बिहान अस्पताल पुगेर घाइते अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखलाई सम्पर्क गरी घटनाको छानबिन गर्न र दोषीलाई कानुनी दायरामा कारबाही गर्न आदेश दिएका हुन् ।
शुक्रबार राति जनकपुरधामको सोनारपट्टीस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग विवाद भएको थियो । सोही क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते भएका थिए ।
स्थानीय व्यवसायीहरूले भने दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गरेका थिए । यस कारण विवाद चर्किएको र स्थिति तनावपूर्ण बनेको जनाइएको छ ।
प्रहरीले भने आफूहरु सूचना अनुसार अनुगमनमा गएको तर केही व्यवसायी आक्रामक बनेपछि स्थिति नियन्त्रण गर्नुपरेको जनाएको छ । तर, व्यवसायी र संघले प्रहरीको कार्यशैली अत्यधिक बल प्रयोग र मनोमानीपूर्ण भएको आरोप लगाएका छन् ।
अध्यक्ष भण्डारीके प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था मध्यम गम्भीर रहेको बताएका छन् ।
मुख्यमन्त्री सोनलले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न सुरक्षा निकायलाई निर्देशन दिएको र व्यापारी समुदायलाई कानुनी संरक्षण सुनिश्चित गर्न आवश्यक कदम चालिने बताएका छन् ।




