जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी छठ पर्व सकिएलगत्तै मधेस प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको बताएका छन्। जसपा नेतृत्वले गठबन्धन दलहरूसँग समन्वय गरी सरकारमा प्रवेश गर्ने अन्तिम तयारी गरिरहेको उनले जानकारी दिएका हुन् ।
सचिव साहका अनुसार, मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी छ। त्यसपछि गठबन्धनका दलहरूले साझा नीतिगत कार्यसूची तय गरेर सरकार सञ्चालनमा जुट्नेछन्।
‘छठ पर्व सकिएलगत्तै जसपा नेपाल सरकारमा सहभागी हुनेछ,’ साहले भने, ‘गठबन्धनको साझा एजेन्डाअनुसार मन्त्रीहरू चयन गरिनेछ।’ उनले पार्टीका प्रदेशसभा सदस्यहरू सक्षम, अनुभवी र जनउत्तरदायी रहेको दाबी गर्दै काम गर्न सक्ने, इमानदार र योग्य जनप्रतिनिधिलाई मात्र सरकारमा पठाउने निर्णय भएको बताए।
राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको परामर्शअनुसार संसदीय दलको बैठकले यो निर्णय गरेको हो। जसपाले अब परिणाममुखी शासन र जनताप्रति उत्तरदायी नीति अपनाउने प्रतिबद्धता जनाएको छ। सचिव साहले जसपाको मुख्य उद्देश्य मधेस प्रदेशलाई सुशासन, विकास र स्थायित्वतर्फ अघि बढाउने रहेको बताए।
जसपा नेतृत्वले छठ पर्वपछि औपचारिक रूपमा मन्त्रीहरूको नाम टुङ्गो लगाउँदै सरकारमा प्रवेश गर्ने तयारी गरेको छ। अहिले पार्टीभित्र मन्त्रालय विभाजन र प्रतिनिधित्वको सन्तुलनबारे छलफल जारी रहेको बुझिएको छ। गठबन्धन दलहरूले पनि जसपाको सरकारमा सहभागितालाई सकारात्मक रूपमा लिएका छन्।




