महोत्तरी - मधेशका जिल्लाहरुमा आजबाट दिदीबहिनीहरुले आफ्ना दाजुभाइ तथा दिदीबहिनीको अमिट प्रेमको प्रतीकको रूपमा मनाइने समाचकेवा पर्वको रौनक बढ्दै गएको छ। महोत्तरीको औरही लगायत मधेसका विभिन्न जिल्लामा यस पर्वका अवसरमा सांस्कृतिक तथा धार्मिक गतिविधिहरूमा सहभागीको चहलपहल देखिएको छ।
समाचकेवा पर्वमा समा, चकेवा, चुगला लगायतका पात्रहरू माटोको कलात्मक रुपमा तयार पारेर पूजापाठ गर्ने परम्परा रहेको छ। औरहीकी ब्रतालु मन्जु कुमरी यादव“यदुवान्शी”ले यस पर्वका बारेमा बताइन्, “यस पर्वमा मैथिल नारीहरूले दाजुभाइको प्रशंसा गर्दै ‘चुगला’ पात्रलाई गीतमार्फत गाली र मनोरञ्जन गरिन्छ।”
औरही नगरपालिका २ का समाजसेवी नागेन्द्र यादवका अनुसार, समा–चकेवा समूहगत रूपमा कात्तिक पूर्णिमासम्म खेलिने परम्परा अझै कायम छ। खरनाको रातिबाट विधिवत रुपमा सुरु भई कात्तिक पूर्णिमाको मध्यरातमा समापन गरिने यस पर्वमा दाजुभाइले समाचकेवा पात्रलाई घुंडामा राखेर फुटाइ नदी, पोखरी वा खुला चौरमा गाडेर अन्त्य गर्ने चलन छ।
समाचकेवा पर्वका लागि मैथिल नारीहरू माइती जाने चलन रहेको छ। बाहिर रहेका दाजुभाइहरू समेत पर्वमा सहभागी हुन घर फर्किने गर्छन्। मधेसमा सुरु भएको यो पर्व थारू र मैथिली समुदायमा विशेष रूपमा मनाइन्छ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै गीत गाउने र ‘समा’ खेल्ने चलन छ। गाउँहरू गीतमय हुने र एक किसिमको सांस्कृतिक ‘सिनेमा’ जस्तो माहोल बनाउने यस पर्वको रौनक उल्लेखनीय छ।
पर्वको क्रममा दिदीबहिनीहरूले फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ पात्रको जुँगा डढाउने परम्परा पनि छ। औरही नगरपालिका २ औरहीकि मन्जु यादव"यदुवान्शी" र औरही नगरपालिका १ औरहीकी राखी साहले बताइन्, “यसले समाजमा अनुचित प्रवृत्तिलाई रोक्न र दाजुभाइको सम्बन्ध सुमधुर बनाउन मद्दत गर्छ।”
थारू संस्कृतिविद् भुलाई चौधरीका अनुसार, समाचकेवा केवल खेल वा संस्कृति मात्र नभई थारू समाजको इतिहास, सभ्यता र पहिचान बोकेको मौलिक गाथा हो। उनका अनुसार करिब दुई हजार वर्षअघि गरभा नामक राजाले छोरी समालाई दरबारमा गरिएको चुगलिखोरीका कारण वनवास पठाए। भाइहरू उनलाई खोज्न जंगल पुगे पनि समाले समाचकेवा रूप धारण गरेकी थिइन्।
पर्वको अन्त्य कात्तिक पूर्णिमामा विधिपूर्वक पूजा–पाठ र बिसर्जन गरेर गरिन्छ। यस अवसरमा दिदीबहिनीहरूले समाचकेवाको प्रतिमालाई दही–चिउरा तथा मिष्ठान्न खुवाएर नजिकैको नदी, पोखरी वा दहमा बिसर्जन गर्छन्। यससँगै सखी–मित सम्बन्ध कायम गर्ने परम्परा पनि रहिआएको छ, जसले समाजमा सद्भाव, सहकार्य र सहिष्णुता विकास गर्न मद्दत गर्दछ।
समाचकेवा पर्व दसैं, तिहार र छठपछि तराईमा मनाइने अन्तिम सांस्कृतिक पर्वको रूपमा प्रतिष्ठित छ। स्थानीय बजारहरूमा माटाका मूर्तिहरू बिक्री हुने र फुर्सदिला चेलीहरूले आफैं बनाउने चलन छ। यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको अमिट प्रेम र परिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छ।




