महोत्तरी - मटिहानी नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक स्थल लक्ष्मीनारायण मठमा आज हरिबोधनी एकादशीको अवसरमा विशेष पूजा–अर्चना एवं धार्मिक अनुष्ठान सम्पन्न भएको छ।
विहानैदेखि मठ परिसरमा दर्शन तथा पूजाका लागि श्रद्धालुहरूको भीड लागेको थियो। भक्तजनहरूले भगवान् विष्णुको आराधना गर्दै ब्रत, भजन–कीर्तन र दीपदानमार्फत आस्था प्रकट गरेको देखिएको थियो।
पुजारीहरूको अगुवाइमा वैदिक विधिअनुसार पूजा सम्पन्न गरिनुका साथै मठ परिसर आकर्षक दीपहरूले झलमलिएको थियो। भक्तजनहरूले दीप बाल्दै भगवान् लक्ष्मीनारायणसँग परिवारको सुख–समृद्धि र देश–विदेशमा शान्तिको कामना गरेका थिए।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको रूपमा परिचित लक्ष्मीनारायण मठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन विशेष पूजा–अर्चनासहित हरिबोधनी एकादशीको पर्व मनाइँदै आएको छ। यस अवसरमा मटिहानीका साथै आसपासका क्षेत्र तथा भारतको सीमावर्ती भूभागका भक्तजनहरू समेत दर्शनका लागि आउने गरेका छन्।













