जनकपुरधाम- वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका–३ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३१ वर्षीय राहुल पुन्ज रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पुन्जले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र सुविधासहित युकेमा रोजगारीको प्रलोभन देखाउँदै लामो समयसम्म झुक्याउँदै आएका थिए । उनले विभिन्न व्यक्तिबाट झण्डै ४२ लाख रुपैयाँ उठाएर फरार भएका थिए ।
पुन्जले वैदेशिक रोजगारीका नाममा युवाहरूलाई ‘भिसा प्रक्रिया भइरहेको छ’ भन्दै पटक–पटक आश्वासन दिँदै रकम संकलन गरेको र पछि सम्पर्कविहीन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । ठगीमा परेकाहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि प्रहरीले पुन्जको खोजी तीव्र पारेको थियो ।
आइतबार पुन्जलाई काठमाडौं महानगरपालिका–११ क्षेत्रबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, काठमाडौं पठाइएको उपरीक्षक आचार्यले जानकारी दिए ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने यस्ता व्यक्तिबाट सजग रहन सर्वसाधारणलाई अपिल गरेको छ । वैदेशिक रोजगारका अवसर सरकारी स्वीकृति प्राप्त संस्थामार्फत मात्रै लिन पनि प्रहरीले आग्रह गरेको छ ।




