जनकपुरधाम - राजनीतिक रस्साकस्सी र विरोध प्रदर्शनबीच मधेस प्रदेशको नयाँ नेतृत्वका रूपमा जिम्मेवारी सम्हालेका मुख्यमन्त्री सरोजकुमार यादवले आफू संविधान, राष्ट्रियता र संघीय लोकतान्त्रिक व्यवस्थाको मर्ममा आघात नपुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सरकार गठन बाध्यात्मक परिस्थितिमा भए पनि आफ्नो कदम पूर्णरूपमा संवैधानिक प्रक्रिया अनुसारै रहेको दाबी गरे।
दिनभरी विपक्षी दलहरुको विरोध र प्रदर्शन पश्चात प्रदेश प्रमुखलाई बर्खास्त गरिएको सरकारको निर्णय पछि साझ मधेस भवन पुगेका मुख्यमन्त्री यादवले साझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “मुख्यमन्त्रीको हैसियतमा संविधान र राष्ट्रियता सुरक्षित राख्दै संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउँछु।”
बर्दिवासमा शपथ ग्रहण गरेको विषयमा उनले विरोध प्रदर्शन तथा हिंसा र तनाव टार्नका लागि मात्र त्यहाँ शपथ लिएको स्पष्ट पारे। “मधेसका अघिल्ला तीन मुख्यमन्त्रीले पनि प्रदेश प्रमुखको कार्यालय बाहिरै शपथ लिएका थिए। स्थिति थप बिग्रिन नदिई शान्त वातावरणमा जिम्मेवारी प्रारम्भ गर्न मैले जनकपुर बाहिर शपथ लिएको हुँ,” उनले भने।
यादवले एमालेले षड्यन्त्र गरेर नभई संविधानले तोकेको विधि र प्रक्रिया अनुसार सरकार गठन गरेको जिकिर गरे। उनका अनुसार, “प्रदेश प्रमुख बिरामी हुनुभएको र सरकार विहीन अवस्था लामो समय नहोस् भन्ने उद्देश्यले तत्काल शपथ ग्रहण गरिएको हो।”
उनले आफ्नो नियुक्ति कात्तिक २३ गते राति नै सम्पन्न भएको उल्लेख गर्दै बिरामी प्रदेश प्रमुखलाई दबाबका कारण नभई संवैधानिक दायित्व पूरा गर्न बाध्य भएर शपथ लिएको बताए।
एमालेभित्रको असन्तुष्टिबारे प्रश्न सोधिँदा मुख्यमन्त्री यादवले पार्टीभित्र संविधानको धारा १६८(३) अनुसार सरकार गठनको विषयमा औपचारिक छलफल नभएको स्वीकार गरे। उनले भने, “हामी कानुनी विज्ञ होइनौँ, संविधानले प्रदेश प्रमुखलाई जे भनिएको छ, त्यसैअनुसार गर्न आग्रह गरेका थियौँ।”
कार्यभार सम्हाल्न ढिलाइबारे उनले कार्यालय व्यवस्थापनका कारण केही समय लाग्ने बताउँदै भने, “कार्यालय व्यवस्थापनका लागि निर्देशन दिइसकिएको छ। तयारी पूरा भएपछि छिट्टै पूर्ण रूपमा जिम्मेवारी सम्हाल्नेछु।”




