जनकपुरधाम-
चलुसखी देव चुमाओन हे
जनक जीके अङ्ना।
दुल्हा बनल है श्रीराम
(सखीसंगीहरू जनकको आङ्ना जाउँ, जहाँ रामलाई चुमाउने छु। किनकि श्रीराम दुल्हा बनेका छन्।)
यस्तै, सुमधुर लोक गीत संगीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यति खेर जनकपुरधाममा देखिएको छ। प्राचिन मिथिला र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज (मंगलवार) भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलन अनुसार मनाइँदै छ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन्। श्रद्धालुले जानकी मन्दिर लगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन्।

जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास बैष्णवले भन्छन्, “सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन्। ”
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रंगभूमिमा लगेर स्वयंवर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गर्ने परम्परा रहेको महन्थ दासले बताए ।

त्यस्तै, उक्त अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन्।
राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी माघ महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ।
सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसंग उल्लेख गरिएको छ।

उक्त विवाह भएको खुशीयालीको सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ।
राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा सहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ। त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेपछि मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ।

हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ। अहिले पनि हिन्दूहरुको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा नेपालका विभिन्न ठाउँसहित भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन्।
हुन त जनकपुरधाममा हरेक महीनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ। त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ।

त्यस्तै, श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाललीलासँग सम्बन्धित ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ।
तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ।
यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा (बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ। अयोध्याबाट आउने जन्ती (बाराती समूह)लाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत तथा अभिवादन गर्ने परम्परा छ।

यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ। त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’कर्म गंगासागरमा पुगेर निर्वाह गरिन्छ।
पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रंगभूमि मैदानमा पुग्दछ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ।

राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीलाई माला लगाई आरतीपूजनपछि स्वयंवर पूरा हुन्छ। त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरतीपूजन गरिन्छ। त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्पराअनुसार भगवान रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।
विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण जनकपुरका होटल, लज र धर्मशालाहरू भरिभराउ छन्। साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ–ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन्।

विवाह पञ्चमीको अवसरमा आज मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ। गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा मंसिर ९ गते मंगलबारका दिन विवाहपञ्चमीका अवसरमा प्रदेशभर सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने उल्लेख गरिएको छ ।
प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रकाशित राजपत्रमा समावेश वार्षिक बिदा सूचीअनुसार विवाह पञ्चमीलाई प्रदेशकै महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा समेटिएको थियो । उक्त प्रावधानअनुसार मंसिर ९ गतेको बिदा लागू हुने जनाइएको छ ।

साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले जनकपुरधाममा माछा, मासु तथा मदिरा बिक्री–वितरणमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंसिर ७ गते आइतबार राति १२ बजेदेखि मंसिर १० गते बुधबार राति १२ बजेसम्म तीन दिनका लागि माछा, मासु, मदिरा तथा अन्य नशालु पदार्थको बिक्री–वितरण निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनका अनुसार प्रतिबन्धित अवधिमा पञ्चकोशी परिक्रमा क्षेत्रको दायाँ–बायाँ पशु–पन्छी काटमार, मासुजन्य पदार्थ उत्पादन तथा मदिरा बिक्री गर्न पाइने छैन । विवाह पञ्चमीको भीड, धार्मिक संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।
यता विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा योजना लागु गरेका छन् ।
विवाहपञ्चमीमा सहभागी हुन आउने लाखौँ श्रद्धालुहरूको सुरक्षाका लागि १ हजार ४ सय नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका साथै सात सय बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शान्ति सुरक्षालाई ख्याल गर्दै व्यापक रूपमा सुरक्षाकर्मीको परिचालन गर्नुका साथै पाकेटमारलगायत अपराध रोक्न सादा पोसाकका तालिमप्राप्त प्रहरी परिचालन गरिने धनुषा प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताउनुभयो।

उनले विवापञ्चमी महोत्सव अवधिभर कमाण्ड पोस्ट, ठाउँ–ठाउँमा चेकिङ्ग प्वाइन्ट राख्नुका साथै सीसीटीभी क्यामेरा र ड्रोन क्यामेराबाट निगरानी राख्ने कार्य भइरेहको जानकारी दिनुभयो । मेलामा आउने सवारी साधन तथा भिड व्यवस्थापन गर्न ट्राफिक प्रहरी खटाइएको छ । त्यस्तै श्रद्धालु भक्तजनहरूको बासस्थानमा समस्या नहोस् भनी नेपाल प्रहरी तयारी अवस्थामा छ ।




