राज करण महतो
बर्दिबास : बर्दिबास केवल उदाउँदो सहर मात्रै होइन, राष्ट्रिय राजनीति, सुरक्षा संयन्त्र, व्यापार र रणनीतिक चासोहरूको संगमस्थल पनि हो। यसैकारण महोत्तरी क्षेत्र नम्बर १ को चुनाव सिंहदरबारसँग जोडेर हेरिन्छ।



महोत्तरी–१ मा पार्टीका र स्वतन्त्र गरी २५ उम्मेदवार छन्। यीमध्ये ५ दलहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. मुकेशराज काफ्ले, एमालेले निवर्तमान सांसद् लक्ष्मी महतो कोइरी, नेकपाले पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीले क्रसर व्यवसायी प्रमोद महतो र जनता समाजवादी पार्टी नेपालले व्यवसायी तथा समाजसेवी योग नारायण महतोलाई उम्मेदवार बनाएको छ। यी पाँच उम्मेदवारको पृष्ठभूमि फरक–फरक छ। जो एकअर्काको प्रतिस्पर्धी छन्। यसले चुनावी प्रतिस्पर्धालाई रोचक मात्रै बनाएको छैन, प्रतिष्ठाको सवाल पनि बनाएको छ।
यसैकारण महोत्तरी–१ मुलुककै चासोको निर्वाचन क्षेत्र बनेको बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपालप्रसाद बरालले जनाए। गज्जबको कुरो, यसपालि सबै दल एक्लाएक्लै चुनावी मैदानमा छन्। ०७४ र ०७९ को चुनावमा पार्टीहरू गठबन्धन बनाएर चुनावमा उत्रिएका थिए। त्यसले धेरैलाई फलिफाप गरे पनि पार्टीहरूको संगठन नै कमजोर बनाएको चर्चा छ।
जेन–जी आन्दोलनको बलमा घोषणा भएको चुनावमा मतदाताहरू नयाँ अनुहारको खोजीमा छन्। तर, त्यो कति सम्भव भन्नका लागि चुनावै पर्खिनुपर्ने बर्दिबास १३ बिजलपुराका राजनीतिक कार्यकर्ता कमानसिंह पाख्रिन बताउँछन्।
मधेसी, आदीवासी जनजाति, मुस्लिम, थारु, दलित, खसआर्यको साझा थलो हो–महोत्तरी– १। अनेकतामा एकताको प्रतीकले यो क्षेत्रलाई मुलुकको नमुना क्षेत्र मानिएको संस्कृतिविद् डा. वीरबहादुर महतो बताउँछन्। उनी भन्छन्, ‘यहाँ संघसंस्था, व्यापार संघ, स्कुलको व्यवस्थान समिति, वन उपभोक्ता समिति जस्ताको चुनाव जित्नसमेत दलहरू लालाहित हुन्छन्। झन् आमनिर्वाचनको जित
आफ्नो पार्टीको पोल्टामा पार्न पार्टीका शीर्षस्थ नेताहरू नै चुनाव प्रचारमा खट्छन्।’ यो निर्वाचन क्षेत्रको कनेक्सन सिंहदबारसँग रहेको उनी बताउँछन्। मधेस आन्दोलनपछि सुरक्षित बसोबासका रूपमा बर्दिबास सबैको रोजाइमा परेको थियो। ‘यहाँ पार्टीको विचार, सिद्धान्तभन्दा व्यक्तिको व्यवहार, जनसम्बधनलाई हेरेर मतदाताले उम्मेदवार छान्छन्,’ उनी भन्छन्।
नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेल पाँचौंपटक चुनावी मैदानमा उत्रिएका छन्। तर, यसपटक उनको उम्मेदवारीले पार्टीभित्रै तीव्र विवाद जन्माएको छ। केन्द्रीय नेता राजु खड्का, भरत साह तथा प्रदेशस्तरका नेता विदुर कार्की, शिवनाथ महतो समूह असन्तुष्ट देखिन्छन्। महोत्तरी–१ लाई पोख्रेलले आफ्नो ‘पेवा’ ठान्दै आएको उनलाई आरोप लाग्दै आएको छ। यसै कारण भरत साहलाई महोत्तरी–४ सर्नुपरेको चर्चा छ। पार्टीभित्रको असन्तुष्टिलाई नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले मत्थर पारेको चर्चा छ। केही दिन पहिले सबै नेताहरूलाई उनले पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएका थिए।
संयोजक प्रचण्डले सबैको आक्रोश सुनेको पार्टीका एक नेताले बताए। काठमाडौंबाट फर्किएपछि असन्तुष्ट रहेका नेता राजु खड्कालाई चुनाव परिचालन समितिको कमान्ड बनाएको छ। उनले पार्टी बैठकमा बोल्दै भनेका छन्, ‘पार्टीभित्रका सबै समस्या हल भयो। हामी चुनावमा होमियौं।’ ०७९ को स्थानीय तहमा आफ्नै पार्टीबाट अन्तरघात गरेर बर्दिबास नगरपालिकाको मेयरमा आफूलाई चुनाव हराएको खड्काले बताउँदै आएका छन्। छानबिन भए पनि प्रचण्डले त्यो प्रतिवेदन सिरानीमुनि हालेको एक नेतााले बताए।
विगत हेर्ने हो भने उम्मेदवार पोखरेलले २०६४, २०७० र २०७४ को आम निर्वाचनमा जितको हाट्रिक लगाएका थिए। २०७९ को निर्वाचनमा लक्ष्मी महतो कोइरीसँग हारेका थिए। ०७९ को प्रतिनिधिसभा सदस्यको चनावमा कोइरीले २३ हजार ४०२ मत ल्याएर गिरिराजमणि पोख्रेललाई २२ हजार ३७२ मतमा सीमित पारेका थिए। बौद्धिक, सहनशील र धैर्यवान नेताको छवि नेता पोखरेलको बलिया पक्ष हुन्। तर, सत्ता, शक्ति र पावरमा निरन्तर रहन चाहने प्रवृत्तिले उनी आलोचित बन्दै आएका छन्। भाषण र योजना धेरै भए पनि कार्यान्वयनको पक्षमा उनी कमजोर देखिन्छन्। रातु नदी सभ्यता र चुरे संरक्षण जस्ता मुद्दा उठाए पनि कार्यान्वयन पक्ष प्रभावकारी छैन।
राष्ट्रिय नेता भए पनि आफ्नै क्षेत्रमा उत्तराधिकारी तयार नगर्नु उनको दीर्घकालीन कमजोरीका रूपमा हेरिएको छ। उनी भन्छन्, ‘अन्तिमपटक चुनाव लड्दै छु। बर्दिबास मेडिकल कलेजलगायतको काम पूरा गर्न मैले उम्मेदवार बन्नु परेको छ।’
एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरी आफूलाई भुइँमान्छेको प्रतिनिधि ठान्छन्। उनी यहाँका भूमिपुत्र हुन्। चियापसलदेखि संसद्सम्म सहज उपलब्ध हुने नेताका रूपमा उनी चिनिन्छन्। सोझो, निडर र जनसहयोगी स्वभाव उनको शक्ति र परिचय हो। तर, राष्ट्रियस्तरमा प्रभावशाली भूमिका नदेखिनु, क्षेत्रको मुद्दा संसद्मा कमजोर रूपमा उठ्नु, परिवारवाद प्रतिको झुकाव र ठोस विकास उपलब्धिको अभाव उनको कमजोरी बनेको छ।
२०७९ मा पोखरेललाई पराजित गरेर ‘लालकिल्ला भत्काएको’ उनको दाबी यसपटक पनि जोगिन सक्ला कि नसक्ला भन्ने प्रश्न उब्जिएको छ। उनले भने, ‘अब म अन्तिमपटक चुनावी मैदानमा छु।’ खानेपानी र सिँचाइलाई उनले मुख्य एजेन्डा बनाएका छन्।
गत निर्वाचनमा उनले पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई हराएपछि राष्ट्रियस्तरमा चर्चा कमाएका थिए। त्यतिबेला एमालेले रातारात टिकट दिएर चुनाव लडाएको थियो। विगत जस्तो निर्वाचनको नतिजा हात पार्न कठिन छ। किन भने मुख्य सहयोगी जसपा नेपालले आफ्नै उम्मेदवार उठाएको छ। जसपाका नेता शरतसिंह भण्डारीले लक्ष्मी महतोविरुद्ध आफ्नो पार्टीबाट योगनारायण महतोलाई चुनावमा उठाएको चर्चा छ। यसले महोत्तरी–१ को चुनावको नतिजलाई उल्टयाउने दाउवामा भण्डारी छन्। लक्ष्मीसँग शरतको पुरानो राजनीतिक दुस्मनी छ। त्यसैले महतोको भोट बैंक क्षेत्रबाट उनले योगनारायणलाई उम्मेदवार बनाएका छन्। उम्मेदवारी दर्तालगत्तै माघ ६ गते पोखरेल भण्डारी निवास औरही पुगेर आफूलाई चुनाव जिताउन सहयोग मागेका थिए। महोत्तरी क्षेत्र नम्बर १ मा महतो जातीको भोट निर्णायक मानिन्छ।
गत निर्वाचनमा कोइरीलाई सोही भोटले जिताउन सहयोग पुगेको थियो। चुनाव हारेपछि पोखरेलले समीक्षा बैठकमा महतोहरूले आफूलाई भोट नदिएर हराएको गुनासो गरेका थिए। यसपाली जसपासहित चार पार्टीले महतोलाई नै उम्मेदवार बनाएको छ। यसले चुनावी नतिजा उल्टिने आंकलन गरिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार डा. मुकेशराज काफ्ले प्राध्यापकदेखि नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिसकेका व्यक्ति हुन्। समन्वय र सहकार्यमा सक्षम मानिए पनि मतदातामाझ अपरिचित अनुहार हुनु उनको सबैभन्दा ठूलो चुनौती हो। १८ घण्टा लोडसेडिङको योजनाकार रहेको आरोप उनलाई लाग्दै आएको छ। अर्कोतिर पार्टीभित्रको सम्भावित अन्तरघातले उनको चुनावी यात्रालाई कठिन बनाएको छ।
यद्यपि, उनले आफूमाथि लागेको लोडसेडिङको आरोप गलत भएको दाबी गर्दै आएका छन्। ०७९ को निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका गठबन्धनबाट महोत्तरी–१ मा उम्मेदवार बनेका गिरिराजमणि पोखरेलकोविरुद्धमा कांग्रेसबाट पोषण थापाले बागी उम्मेदवारी दिएका थिए। त्यसले पोखरेललाई हराएको चर्चा छ। यतिखेर थापा काफ्लेलाई चुनाव जिताउन अघि सरेका छन्। कमजोर संगठन मतलाई बलियो चुनावी नारा, योजना र आशाले मात्रै डा. काफ्लेको जितलाई बलियो बनाउने पार्टीका एक नेताले जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद महतोभन्दा बढी चर्चा पार्टीको चुनाव चिह्न ‘घण्टी’को छ। क्रसर व्यवसायी पृष्ठभूमि, कमजोर संगठन, उम्मेदवार छनोटमै देखिएको विवाद र समाजमा कमजोर पकड उनका प्रमुख कमजोरी हुन्। सुशासनको नारा बोके पनि व्यक्तिगत छवि र वैचारिक स्पष्टतामा उनी कमजोर देखिन्छन्। उनी भन्छन्, ‘यसपालि बालेन सरकार बनाउन मेरो उम्मेदवारी छ। सबै भ्रष्टाचारीहरूको दिमागमा टिनिनिनि…घण्टी बजाउँछौं।’ खोला दोहन गरेर क्रसर व्यवसाय चलाएको कडा आरोप उनी माथि छ।
जनता समाजवादी पार्टीका उम्मेदवार योग नारायण महतो शिक्षित युवा तथा मेडिकल व्यवसायी हुन्। सामुदायिक विद्यालय रूपान्तरणमा भूमिका खेलेका उनले जसपा–लोसपा एकीकरणबाट लाभ लिने अपेक्षा रहेको जसपा केन्द्रीय समन्वय समितिका सदस्य चन्देश्वरप्रसाद सिंहले जनाए। कमजोर जनसम्पर्क र पार्टीभित्रकै अन्तरघातको सम्भावनाले उनको जितको बाटो सहज छैन। गत निर्वाचनमा जसपा नेपालले एमालेका लक्ष्मी महतोलाई सहयोग गरेर जिताएको थियो।
गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, भंगहा नगरपालिकाको ४ वटा वडा गरी ३० वटा वडा मिलेर महोत्तरी क्षेत्र नम्बर १ बनेको छ। गौशालामा जसपाको मेयर, उपमेयर र बहुत वडाध्यक्षले ०७९ को चुनावमा जितेको थियो। उम्मेदवार लक्ष्मी महतोका छोरा डा. दीपेन्द्र महतो गौशाला नगरपालिकाका मेयर छन्। उनले पार्टीको उम्मेदवार योगनारायणलाई सघाउँछन् कि बुबा लक्ष्मीलाई ? त्यसले निर्वाचन नतिजामा प्रभाव पार्ने जसपाका एक नेताले बताए।
यता उम्मेदवार योगनारायणले आफ्नो पार्टीले कुनै पनि हालतमा यसपालीको चुनावमा कसैलाई सहयोग नगर्ने दाबी गरेका छन्। उनले भने, ‘अन्तिम क्षणमा मैले अरू उम्मेदवारलाई समर्थन गर्ने हल्ला छ। त्यो हल्ला गलत हो। म कसैलाई समर्थन गर्दिन।’
महोत्तरी–१ मा मधेसी, दलित, मुस्लिम, थारु, आदिवासी जनजाति, खस आर्यमूलका मतदाताको मिश्रित बसोबास छ। आसन्न निर्वाचनका लागि ५६ हजार २ सय २२ पुरुष, ४९ हजार ४ सय २२ महिला र अन्य दुई जना गरी जम्मा मतदाता संख्या १ लाख ५ हजार ६ सय ४६ जना कायम भएका छन्। यो क्षेत्र राजनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ।
बर्दिबासको चौबाटोबाट उठेको जनमत जसतर्फ मोडिन्छ, सिंहदरबारतर्फ जाने राजनीतिक बाटो पनि उतैतर्फ खुल्ने बर्दिबासका ८३ वर्षीय टंकहरि अधिकारी बताउँछन्। उनी भन्छन्, ‘नेताहरूलाई पटकपटक भोट दियौं। उनीहरूले देखाएको घोषणापत्र कागजमै सीमित भए। रातु, मडहा खोला खनेर बेच्न सघाए। खोला गहिरियो। खोलामा थोप्पो पानी छैन । आज खेत बाँझियो।’ अब पुराना अनुहारलाई मत नदिने मनसाय मतदाताको भएको उनीहरू बताउँछन्।
भंगहाको इन्जिनियर बलिराम प्रसाद साह क्षेत्रको विकासको नेतृत्व गर्ने र संसद्मा जनताको आवाज बुलन्द गर्ने नेताको खोजीमा मतदाता रहेको बताउँछन्। नागरिक समाजका अगुवा लीलाहरि खतिवडाका अनुसार पुराना दलभित्रको आन्तरिक कलह नै उनीहरूकै लागि बोझ बनेको छ। ‘यो क्षेत्रको प्राकृतिक स्रोत दोहन गरेर हुने भ्रटाचार र बढ्दै गरेको विभिन्न अपराध घटना नियन्त्रण भने यहाँ ठूलो चुनौती हो,’ उनले भने।-अन्नपूर्णा पोष्ट




