वर्दिबास — नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अन्तर्गत महोत्तरी–१ मा सरोज यादव पक्षधर प्यानल विजयी भएको छ। सोमवार सम्पन्न मतदानको अन्तिम नतिजाअनुसार खुला तर्फ विराट विष्टले सर्वाधिक मतसहित अग्रता प्राप्त गर्दै विजयी बनेका छन्।
उनीसँगै कुमार घिमिरे, काहारमान स्याङवा, शंकर महतो, गुन्जबहादुर खड्का र अरुणकुमार सिंह खुला श्रेणीका प्रतिनिधि चयन भएका छन्।
महिला तर्फ विन्दु किङरीङ, सम्झना शर्मा पौडेल र सरस्वती चौधरी प्रतिनिधिमा निर्वाचित भएका छन्।
जिल्ला अध्यक्ष बलिराम यादवका अनुसार, “महोत्तरी–१ मा प्राप्त यस जितले प्रदेशमा सरोज यादव र केन्द्रमा केपी ओलीको नेतृत्वलाई थप मजबुत बनाएको छ।”
प्रमुख निर्वाचन अधिकृत शिवशरण यादवका अनुसार कुल ८९६ प्रतिनिधिले मतदान गरेका थिए, जसमा १२ मत बदर भएको जनाए ।
यसअघि नै युवा तर्फ वर्दिबासका युवा नेता तथा इन्जिनियर रवि पोखरेल सर्वसम्मत रूपमा प्रतिनिधिमा निर्वाचीत भैसकेको निर्वाचन समितिले जनाएको छ ।
स्थानिय एमाले नेताहरूको विश्लेषण अनुसार, मधेश प्रदेशभर सरोज यादव समूहले ठूलो संख्यामा प्रतिनिधि जितेकाले आगामी महाधिवेशनमा केपी ओली पक्षलाई थप सहजता हुने देखिएको छ।




