जनकपुरधाम । मधेश प्रदेशले नयाँ नेतृत्व पाएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई संविधानको धारा १६८(२) बमोजिम प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि धारा १६८(३) अनुसार नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने संकेतपछि राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले बुधबार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

सोही आह्वानपछि सातदलीय मोर्चाभित्रका ६ दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित ७७ जना सांसदको समर्थनमा शुक्रबार दाबी पेस गरिएको थियो । दाबी वैधानिकरूपमा पुष्टि भएपछि कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार सम्हाल्नेबित्तिकै प्रदेशमा फैलिएका बेथिति अन्त्य गर्ने कामबाट आफ्नो कार्ययात्रा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नियुक्तिपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले सुशासन कायम गर्दै प्रशासनिक तथा वित्तीय अनियमिततामा कडाइ गर्ने बताए ।
‘प्रदेश थुप्रै बेथितिमा डुबेको छ । मेरो पहिलो काम नै त्यही बेथिति हटाएर थितिमा ल्याउने हुनेछ,’ यादवले भने, ‘सुशासन र उत्तरदायित्वसहित सरकार सञ्चालन हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’
यादवले मधेश प्रदेश अझै पनि गरिबी, अशिक्षा र आधारभूत सेवाको अभावजस्ता चुनौतीमा बाँधिएको उल्लेख गर्दै ती समस्या समाधानतर्फ तत्काल काम थाल्ने घोषणा गरे ।
नवनियुक्त मुख्यमन्त्री यादवले गठबन्धनभित्र मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालयको बाँडफाँडबारे छलफल जारी रहेको बताउँदै छिट्टै पूर्ण सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् ।





