महोत्तरी - महोत्तरीको बर्दिवास नगरपालिका–१२ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक सातापछि बाहिरिएको छ। गाउँमै घटना मिलाउन पीडित परिवारमाथि धम्की र प्रलोभन दिँदै आएका आरोपितलाई प्रहरीले छलफल कार्यक्रमकै क्रममा पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।
गत शुक्रबार विद्यालयबाट घर फर्केर किताब राखी खेतमा काम गर्न पुगेकी बालिकालाई छिमेकी राजेन्द्र महतोले ‘माया गर्छु, पैसा दिन्छु’ भन्दै जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन्। घटनाका क्रममा खेतमा मल लिएर पुगेकी बालिकाकी आमाले छोरीको रोएको आवाज सुनेपछि हेर्न जाँदा महतो भागेको र आफूले छोरीलाई घर ल्याएको पीडितकी आमाले जानकारी दिइन्।
घटनाबारे कसैलाई बताएमा सबैको इज्जत जाने भन्दै हल्ला नगर्न दबाब दिइएको र हल्ला गरेमा ज्यान मार्ने धम्की समेत दिइएको पीडितकी आमाको भनाइ छ। घटनाकै राति आरोपितका मान्छेहरू घरमै आएर धम्की दिएको र पटक–पटक प्रहरीमा जाहेरी दिन खोज्दा ‘गइस् भने मारिदिन्छु’ भन्दै डर देखाइएको उनले बताइन्।
कहिले धम्की त कहिले पैसाको प्रलोभन दिँदै ६ लाख रुपैयाँ लिएर घटना मिलाउन दबाब दिइएको र बाटो छेकेरै छलफलमा राखिएको पीडितकी आमाले बताइन्। बिहीबार दिउँसो करिब २ बजे २०–२५ जनाले घेरेर पीडित परिवारलाई सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिवास–१२ का राजेन्द्र महतोलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा महतोलाई शुक्रबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।




