नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेल । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो २ ओभरमै २६ रन जोडेको थियो । यसैलाई आधार मानेर धेरैको विश्वास थियो, जनकपुर गत वर्ष उपाधि जित्दाभन्दा यस पटक झन् बलियो भएर आएको छ ।
क्रिकेट त्यसमाथि ट्वान्टी–२० यस्तो खेल हो, जहाँ १–२ ओभरले खेलको नक्सै परिवर्तन गरिदिन्छ । यस पटक जनकपुरको पहिलो २ ओभरको खेल माथि भनेको भन्दा ठीक उल्टो रह्यो । पहिलो २ ओभरको खेल हेरेर जनकपुरको खेलको विश्लेषण गर्नु धेरैलाई महाभूल भयो । एनपीएल २ को पूरा यात्रामा जनकपुरका समथर्कले खुसी मनाउनुपर्ने थोरै क्षणमध्ये यो पहिलो २ ओभर पनि रह्यो ।
पहिलो सिजनमा विजेता बनेको जनकपुरको यस पटकको खेल हेरेर समर्थक टाउकोमा हात राखेर बस्नुपर्ने बाध्यता बन्यो । सुरुका चार खेल हारेपछि जनकपुरले आफ्ना समर्थकलाई निराश बनाएको थियो । यी खेलहरूमा जनकपुर १३०–१३५ रनमै अल्झिरहेको थियो । टोलीले खुलेर ब्याटिङ गर्न सकेको थिएन । सानो स्कोरलाई पनि टोलीको बलिङले रक्षा गर्न सकेको थिएन । समर्थकहरू अन्योलमा थिए, आफ्नो टोलीको बलिङ हो कि ब्याटिङ बिग्रिएको भनेर । झन् त्यसमा नियमित क्याचहरू पनि फुत्किँदा जनकपुर टोली नै अन्योलमा परेको थियो ।
पाँचौं खेलमा चितवन राइनोजले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै १ सय ७६ रन बनाएको थियो । पछिल्ला लगातार चार खेलमा पराजित स्थितिलाई हेर्ने हो भने जनकपुरका लागि यो फलामको चिउरा चपाउनु जस्तै थियो । तर जनकपुरले १७.३ ओभरमै १ सय ८० रन बनाएर खेल सानदार ढंगले जित्यो । यसले जनकपुरको प्लेअफमा पुग्ने झिनो आशा पुनः ब्युँतिएको थियो । तर त्यसपछिको अन्तिम दुई खेलमा जनकपुर पुनः पराजित रह्यो । ७ मध्येका ६ खेलमा पराजय भोगेपछि जनकपुर बोल्ट्स पुछारमा नै रह्यो । शीर्षबाट जनकपुर फेदैमा पुगेको थियो ।
ओपनिङ ब्याटरद्वय लाहिरू मिलान्था र आसिफ शेखले जनकपुरलाई पहिलो खेलको सुरुआतमा दिलाएको त्यो सफलता क्षणिक मात्र रह्यो । तेस्रो खेलसम्म पुग्दा मिलान्थाले जनकपुरको टोलीमा आफ्नो स्थान गुमाइसकेका थिए । मिलान्था उनै खेलाडी हुन्, जसले गत वर्ष पहिलो सिजनमा सर्वाधिक २ सय ९३ रन बनाएका थिए भने फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४९ बलमा ८७ रनको विजयी इनिङ्स खेलेका थिए ।
पोखरा राइनोजसँगको तेस्रो खेलमा पनि पराजित भएपछि जनकपुरका कप्तान अनिल साह टिमको प्रदर्शनलाई सुधार्न के कस्तो गर्नुपर्ला भनेर खेल सकिएपछि प्रेस कन्फ्रेसमा आएर पत्रकारहरूसँगै सुझाव लिइरहेका थिए । कमजोर फर्म र टोलीको असफलतापछि चौथो खेलमा पुग्दा उनी आफैं ‘ड्रप’ हुन पुगे । जनकपुर यस्तो टोली हो, जहाँ मार्की खेलाडी कप्तान छैनन् । आसिफ टोलीका मार्की खेलाडी हुन् भने जनकपुरको कप्तानी अनिलले गर्दै आएका छन् । आसिफलाई जनकपुरले यस पटक नेतृत्वदायी भूमिका दिएन । गत सिजन अनिल अधिकांश समय घाइते हुँदा आसिफकै कप्तानीमा जनकपुरले उपाधि उचालेको थियो ।
अनिल पनि जनकपुरको पहिलो रोजाइमा पर्न छाडेपछि दक्षिण अफ्रिकी भेट्रान फास्ट बलर वायन पार्नेलले जनकपुरको नेतृत्व लिएका थिए । पार्नेल एनपीएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी बने । अघिल्लो खेलमा मात्र उनी जनकपुरको टोलीमा समावेश भएका थिए र पोखरासँगको खेलमा अविजित अर्धशतक बनाएका थिए । एक समय दक्षिण अफ्रिकाको तीव्र बलिङको मुख्य आशा रहेका उनले सुदूरपश्चिमसँग बलिङ भने गरेका थिएनन् र पोखरासँगकै खेलबाट उनले चोट बोकेका थिए ।
पार्नेलले पनि ३ खेल मात्र खेले र त्यसमा अन्तिम २ खेलमा कप्तानी गरे । लुम्बिनी लायन्सविरुद्धको छैटौं खेलसम्म पुग्दा जनकपुरको तेस्रो कप्तानका रूपमा यान निकोल लफ्टी इटन आइपुगे । गत वर्ष यी नामिबियाका खेलाडी चितवनमा थिए । कमै खेलेका उनले खासै राम्रो प्रभाव पार्न सकेका थिएनन् । जनकपुरमा भने उनले सबै खेल खेले पनि कप्तानी उनले पाउने कमैको अपेक्षा थियो । सम्भवतः उनले पनि सोचेका थिएनन् ।
कर्णाली याक्सविरुद्ध जनकपुरले लिग चरणको अन्तिम खेल खेल्नुअघि सामाजिक सञ्जाल मिम र ट्रोलले भरिएका थिए, ‘३ कप्तान बनाइसकेको जनकपुरले आजको खेलमा कसलाई कप्तान बनाउला भनेर ।’ एउटा हिसाबले हेर्ने हो भने जनकपुर नेतृत्व चयनमा हराइरहेको जस्तो टोली देखिन्थ्यो । अनिललाई ड्रप गरेपछि आसिफले यो भूमिका पाउने आशा गरेका थिए । तर उनलाई नदिने भएपछि सुदूरपश्चिमसँगको खेल अगाडि आसिफ मैदानमा टोलाएर टोलीका अफिसियलसँग ‘संवाद’ गरिरहेका थिए । ‘वार्म अप’ नगरी सोझै ब्याटिङ गर्न क्रिजमा पुगेका उनको २ बलपछि मिडल स्टम्प स्कट कुग्लेनले उडाइदिएका थिए ।
जनकपुरका प्रशिक्षक मनोज कटुवाल भने कप्तानी दबाब परेको अनिलले बताएपछि नयाँ नेतृत्वमा जानुपरेको तथा विश्व क्रिकेटमा पार्नेल अनुभवी भएकाले उनलाई जिम्मेवारी दिएको बताउँछन् । ललित राजवंशी, किशोर महतोलगायतका खेलाडी फर्ममा नहुनु पनि हारको कारण देख्छन् कटुवाल । ‘कागजमा हामी बलियो नै थियौं, तर हाम्रा घरेलु खेलाडी चल्न सकेनन् । आसिफ, अनिल पनि १–१ खेलमा मात्र चल्न सके,’ जनकपुरका प्रशिक्षक कटुवालको निचोड थियो, ‘विदेशी खेलाडीले पनि सोचेको जस्तो खेल्न सकेनन् । सबै विदेशी खेलाडी सुरुदेखि नै आइदिएको भए स्थिति अर्कै हुन सक्थ्यो ।’
तीव्र गतिका बलर किशोरले ४ खेलमा १ विकेट मात्र लिन सकेपछि उनी फेरि जनकपुरको ‘प्लेइङ लाइनअप’ मा देखिएनन् । देब्रेहाते स्पिनर ललितले ४ खेलमा २ विकेट मात्र लिएपछि टोलीबाट स्थान गुमाउने पालो उनको आएको थियो । अन्तिम खेलमा पुनः मौका पाएका ललितले २ विकेट लिएका थिए । अनिलले ६ खेलमा ७३ रन मात्र बनाउन सके । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डर रूपेश सिंहले पनि बलिङ र ब्याटिङ दुवैको धार देखाउन सकेनन् । शुभ कंसाकार, मयन यादव पनि औसत मात्र रहे ।
जनकपुरबाट सञ्जय कृष्णमुर्थीले सर्वाधिक १ सय ६७ रन बनाए । त्यसबाहेक माज सदाकत (११३), लफ्टी इटन (१०८) र आसिफ (१०५) ले मात्र १ सय रन पार गरेका थिए । कुनै पनि टोलीको ब्याटिङका लागि यो निकै कमजोर तथ्याङ्क हो । पाकिस्तान ‘ए’ लाई कतारको दोहामा एसीसी राइजिङ स्टार कपको उपाधि दिलाएपछि सोझै आएका सदाकतले जनकपुरबाट पहिलो २ खेल खेलेका थिएनन् । बलिङमा कृष्णमुर्थी र संगीथ कोरेले जनकपुरबाट सर्वाधिक ६–६ विकेट लिए । जबकि कृष्णमुर्थी ‘पार्ट टाइम’ बलर मात्र हुन् भने कोरेले ३ खेलमात्र खेलेका थिए ।
एनपीएल सुरु हुनुअगाडि जनकपुरले भेट्रान दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिरलाई अनुबन्धन गरेको थियो । तर जतिखेर ताहिर उपलब्ध हुने भए, त्यतिखेर जनकपुर प्लेअफ दौडबाट बाहिरिने स्थितिमा पुगिसकेको थियो । सम्भवतः त्यही भएर जनकपुरले त्यो जोखिम उठाएन र ताहिर दुबईबाट अन्तै मोडिए । ताहिर आएको भए जनकपुरको यस सिजनको आठौं विदेशी खेलाडी हुने थिए । एउटा टोलीले ६ विदेशी खेलाडी मात्र राख्न पाउने प्रावधान थियो । त्यस अर्थमा जनकपुरले विदेशी खेलाडीमा पनि प्रयोग धेरै गरिरह्यो ।
जिम्मी निसम नहुँदा जनकपुर भुत्ते खुकुरी जस्तै हुन पुग्यो । गत सिजनको च्याम्पियन यात्रामा न्युजिल्यान्डका यी अलराउन्डर प्रमुख खेलाडी थिए । तर टेस्ट राष्ट्रका हाल खेलिरहेका चार खेलाडीले मात्र खेल्न पाउने एनपीएलको नियमका कारण निसम आउन सकेनन् । जनकपुरसँग ‘क्याप’ खेलाडीको कोटा नभएपछि निसम पोखरा लागेका थिए । जनकपुरका कुनै पनि विदेशी खेलाडीले निसमको स्थान लिन सकेनन् ।
एनपीएलमा आएका सबैभन्दा ठूला नाम हुन्, वेस्ट इन्डिजका महान् ब्याटर शिवनारायण चन्द्रपाल । उनी जनकपुरको प्रशिक्षक बनेर आएका थिए । उनले पनि च्याम्पियन जनकपुरलाई हाँक्न सकेनन् । प्रशिक्षणमा उनमा अनुभवको केही कमी देखियो । उनी खेलाडी छनोटमा एकपछि अर्को प्रयोग गर्दैगर्दा जनकपुरको बिर्सनलायक यात्रा सकिएको थियो । सबैभन्दा ठूलो उनको कमजोरी घरेलु खेलाडीमाथि विश्वास देखाउन नसक्नु थियो ।
ललितले गत वर्ष १७ विकेट लिएका थिए र उनी सुदूरपश्चिमका कुग्लेनसँगै सर्वाधिक विकेट लिने खेलाडी थिए । उनले सो यात्रामा धेरै पटक नयाँ बल लिएर पहिलो ओभरदेखि नै बलिङ गरेका थिए । सुदूरपश्चिमले फाइनलमै १ सय ८४ रन बनाउँदा पनि ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर १ विकेट लिएका थिए । तर यस पटक चन्द्रपालले उनलाई १ खेलमा मात्र ओपनिङ बलरका रूपमा बलिङमा ल्याएका थिए । आफ्नो प्रमुख बलरमाथिको विश्वास नदेखाउँदा पनि जनकपुरको बलिङको धार कमजोर देखिएको थियो ।
जनकपुरले सबैभन्दा ठूलो मिस गरेको भनेको प्रशिक्षक पुबुदु दासानायके थिए । गत सिजन जनकपुरलाई केही खेलमा हारको मुखबाट पनि जोगाएर उनले च्याम्पियन बनाएका थिए । अमेरिकाको राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्ति भएपछि उनी एनपीएलमा नआउने भएका थिए । तर विराटनगरले पुबुदुलाई आफ्नो मुख्य प्रशिक्षक घोषणा गरेको थियो । यद्यपि उनी एनपीएलका लागि नेपाल भने आएनन् । अनलाइनमार्फत पुबुदुले टोलीलाई निर्देशन दिएको विराटनगरले जनाएको थियो । यस पटक पुबुदु नहुनु पनि जनकपुरका लागि ‘गुरु मन्त्र’ बिनै खेलिरहेको जस्तो बन्यो ।
जनकपुरको निराशाजनक यात्रालाई टोलीका महाप्रबन्धक निरोज खतिवडा यसरी टुंग्याउन खोज्दै थिए, ‘हरेक पतन उठ्ने मौका हो, हरेक झट्का पुनरागमनको बाटो हो, अर्को सिजन राम्रो हुनेछ र पुनरुत्थान गरिएका बोल्ट्सहरूले अर्को सिजन कडा प्रहार गर्नेछन् ।’-कान्तिपुर


