जनकपुरधाम — जेनजी आन्दोलनले ल्याएको सकारात्मक परिवर्तनलाई दीगो बनाउन निर्वाचन अनिवार्य रहेको इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले बताउनुभएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय, जानकी महिला जागरण समाजको सहयोग तथा राइट्स क्लिनिकको आयोजनामा आज जनकपुरधाममा सम्पन्न “आसन्न आम निर्वाचनः जेनजी युवा र महिला सहभागिता” विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले निर्वाचनको अनुगमनमा आजैदेखि सबै सरोकारवाला सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

प्याकुरेलले जेनजी आन्दोलनले युवा पुस्ताको सोचलाई सशक्त बनाएको उल्लेख गर्दै यसको सकारात्मक उपयोगमार्फत आम निर्वाचन निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गराउन खबरदारी आवश्यक रहेको बताउनुभयो। सेना परिचालनको हल्लाबीच पनि सरकारकै नेतृत्वमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन सबै नागरिकले चौतर्फी दबाब दिनुपर्ने भन्दै सचेत मतदाताको भूमिकामा रहन उहाँले अपिल गर्नुभयो।

भदौ २३ गते भएको आन्दोलनले राज्यको जवाफदेहिता कमजोर अवस्थामा देखिनु संविधानकै खिल्ली उडाउने कार्य भएको टिप्पणी गर्दै उहाँले भोट हाल्न जनता आवश्यक भएजस्तै जनताले आफ्ना कुरा राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो। राजनीतिक दलहरूले आफ्नै आचरणअनुसार जनताप्रति जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

कार्यक्रममा सहभागीको जिज्ञासामाथि बोल्दै मधेश प्रदेश सभा सदस्य शारदा थापाले बाध्यात्मक व्यवस्थाअनुसार महिलाले प्रतिनिधित्व त पाएका छन् तर निर्णायक तहमा अझै पर्याप्त अवसर नपाएको बताउनुभयो।

त्यसैगरी प्रदेश सभा सदस्य रामआशिष यादवले युवाहरूले राजनीतिबारे गहन अध्ययनसहित यस क्षेत्रमा प्रवेश गरेमा देशको राजनीतिक अस्थिरता अन्त्य गर्न सक्ने बताउँदै जेनजी पुस्ता ऐतिहासिक पुस्ता भएकाले निर्वाचनमा सक्रिय सहभागी भएर देश विकासमा योगदान दिन आग्रह गर्नुभयो।

प्रदेश सभाका पूर्व माननीय परमेश्वर साहले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले खुला र सहज ढंगले नेतृत्वदायी भूमिकामा अग्रसर भई आफ्ना एजेन्डाका लागि संघर्ष गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाली काँग्रेस धनुषा जिल्ला उपसभापति गणेश झाले खर्चिलो चुनावी वातावरणमा ‘किन भोट ? र केका लागि भोट ?’ भन्ने कुरा मतदाताले बुझ्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण सम्भव हुने बताउँदै प्रभावकारी मतदाता शिक्षा अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचन सन्दर्भमा मधेश प्रदेशको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा राइट्स क्लिनिकका सदस्य संस्था, बुद्धिजीवी, महिला, लैङ्गिक अल्पसङ्ख्यक समुदाय तथा जेनजी युवाहरूको सक्रिय सहभागिता रहेको थियो।




