काठमाडौँ - विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
गृह मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरण अनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्युठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।
उहाँका अनुसार बाढी/पहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्युठानमा दुई र इलाममा तीन जना बेपत्ता छन् ।
गत असोज ३१ गतेदेखि सुरु भएको वर्षा हुने क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ ।
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।