सरोज यादव
महोत्तरी । महोत्तरी जिल्लामा ट्राफिक प्रहरीले चेकिङको नाममा अनावश्यक रकम असुली गरिरहेको आरोप स्थानीय नागरिक र सवारी व्यवसायीहरूले लगाएका छन् । प्रशासनले नियम कडा बनाउने आश्वासन दिएकै भए पनि व्यवहारमा सुधार नदेखिएको उनीहरूको भनाइ छ ।
स्थानीय सवारी व्यवसायीहरुका अनुसार ट्राफिक निरीक्षणको बहाना बनाएर जलेश्वर ट्राफिक पोष्ट, बर्दिबास ट्राफिक पोष्ट, खैरबनी, भिट्ठामोड नजिकको ट्राफिक पोष्ट, मटिहानी ट्राफिक पोष्ट, गौशाला आसपासको ट्राफिक पोष्ट, पिपरा/लोहरपट्टी क्षेत्रका चेकिङ स्थानहरू, पूर्व–पश्चिम राजमार्ग खण्ड र अन्य नगर तथा बजारमा अस्थायी/स्थायी चेकिङ पोष्टमा मासिक ३०० देखि २५०० रुपैयाँसम्म अनावश्यक रकम उठाइरहेको बताएका छन् ।
“हाम्रो नाममा पारदर्शिता छैन, ट्राफिक निरीक्षणको बहाना बनाएर राजस्व संकलन भइरहेको छ,” एक सवारी चालकले भने। यदि मासिक रकम नतिरेमा जलेश्वर, बर्दिबास, भिट्ठामोड, मटिहानी, गौशाला, पिपरा/लोहरपट्टी लगायतका ट्राफिक पोष्टहरूमा सानातिना उल्लङ्घनमा समेत ट्राफिकले रोक्ने र दु:ख दिने गरेको गुनासो उठेको छ ।
सवारी चेकिङ कमजोर हुँदा लागुऔषध, अवैध मदिरा र निषेधित वस्तुहरूको ढुवानी सवारीमार्गबाट सहजै भइरहेको स्थानीयले बताएका छन् । व्यवसायीहरूले भने कि मासिक रकम बुझाएपछि ट्राफिकले नियम उल्लङ्घन गर्ने सवारीमा पनि नजरअन्दाज गर्ने गरेको छ ।
जिल्ला ट्राफिक प्रमुखले यस्ता अवैध रकम संकलनको जानकारी नभएको प्रतिक्रिया दिएका छन् । स्थानीय सामाजिक अभियन्ता र सवारी चालक संघले छानबिन गरी दोषीमाथि कडा कारबाही र पारदर्शिता कायम गर्न लगातार माग गरिरहेका छन्।- प्रदेश डायरी


