सुजाता राई
विराटनगर । सिर्जनशीलताका विकास गर्दै साहित्यलाई गाउँ गाउँसम्म पुर्याउने उद्देश्यले सञ्चालित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सम्पन्न भएको छ । रङ्गेली साहित्य कला समाज, मोरङ सहआयोजक तथा रङ्गेली नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।




वरिष्ठ साहित्यकार डा. छवि वैरागी घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, रङ्गेली साहित्य कला समाजका निवर्तमान अध्यक्ष रमेशचन्द्र अधिकारी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गाबहादुर कार्कीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा साहित्यका अतिरिक्त समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । विशेष गरेर उक्त कार्यक्रममा बबियाविर्ताका किसानहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाबुराम पोखरेल, डा. देवी पन्थी, चन्द्रप्रसाद आचार्य, प्रकाश भट्टराई, पुरन याक्खा, शैलेन घिमिरे, रूपनारायण श्रेष्ठ, जुनु बुढाथोकी, टीकालाल धिमाल, मोतीराम ढुङ्गाना, किरण उप्रेती, राम नरेश झा, एलिसा विष्ट, डम्बर खड्कालगायतले रचनावाचन गरेका थिए । कार्यक्रममा कृषक र कृषिकर्मसँग सम्बन्धित रचना मात्र वाचन गरिएका थिए । उक्त अवसरमा गीतसङ्गीतका अतिरिक्त सन्थाल जातिको सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । विभिन्न मातृभाषाका रचनासमेत प्रस्तुत भएका थिए ।

रङ्गेली नगरपालिका १ नं वडा, बबियाविर्ता, हाटखोला (साहित्यचोक), मोरङमा सम्पन्न कार्यक्रममा कृषिकर्मका बारेमा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, किसान साहित्यबिचको अन्तरसम्बन्धका बारेमा केशु विरही र वाचित रचनाका बारेमा रमेशचन्द्र अधिकारीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । सहआयोजक संस्था रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

पछिल्लो समय नेपाली साहित्य सहर केन्द्रितजस्तो बन्न पुगेको, साहित्यका पाठक बजारमा भन्दा गाउँमा बढिरहेको थाहा पाएर नै आफूहरूले साहित्यलाई गाउँ गाउँसम्म पुर्याउन चाहेको, सोही क्रममा यो कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष केशु विरही बताउँछन् ।
कार्यक्रम निकै फरक तरिकाले सञ्चालन गरिएको थिए । प्रमुख अतिथि तथा सबै अतिथिलाई भुइँमै बस्ने व्यवस्था गरिएको थियो । तडकभडक नबनाई साधारण किसिमबाट सञ्चालन गरिएको यस प्रकारको कार्यक्रमका बारेमा प्रमुख अतिथि तथा बोल्ने वक्ताले धेरैले खुलेर प्रशंसा गरेका थिए ।




