जनकपुरधाम - मानव अधिकारका लागि एकल महिला समूह धनुषाको आयोजना तथा व्यवस्थापनमा सामाजिक परीक्षण कार्यक्रमसम्पन्न भएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष सुभद्रा आलेको अध्यक्षता र जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा आयोजित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मण्डलले एकल महिला सामाजिक, आर्थिक र मानसिक दृष्टिले अझै पनि पछाडि रहेको उल्लेख गर्दै उनीहरूको समग्र विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुको महत्व औंल्याए ।‘सरकारी निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य बढाएर मात्र एकल महिलाको जीवनस्तर सुधार गर्न सकिन्छ,’ उनले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले पनि एकल महिलाको अधिकार संरक्षण र सशक्तीकरणमा स्थानीय तह सधैं सहयोगी रहने प्रतिबद्धता जनाए ।
उपमेयर साहले एकल महिलालाई लक्षित सीपमूलक तालिम, रोजगारीका अवसर र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इन्सेक नेपाल मधेश प्रदेशका संयोजक राजु पासवानले एकल महिलामाथि हुने विभेद, हिंसा र अधिकार हननका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे ।उनले कानुनी अधिकारबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने र राज्यले उनीहरूको सुरक्षामा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सामाजिक परीक्षणका क्रममा समाजिक परीक्षक अजय साहले संस्थाले विगत एक वर्षमा सञ्चालन गरेका कार्यक्रम, गतिविधि र उपलब्धिबारे विस्तृत जानकारी प्रस्तुत गरे ।
उनका अनुसार संस्थाले एकल महिलाको अधिकार प्रवद्र्धन, कानुनी सहायता, सामाजिक सचेतना अभिवृद्धि, क्षमता विकास तालिम तथा हिंसा प्रभावित महिलालाई परामर्श सेवा प्रदान गर्दै आएको छ । साहले संस्थाको मुख्य उद्देश्य एकल महिलालाई आत्मनिर्भर बनाउँदै समाजमा सम्मानपूर्वक जीवन यापन गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको स्पष्ट पारे ।

कार्यक्रममा स्थानीय महिला, सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले एकल महिलाको क्षमता विकास, सामाजिक सुरक्षामा पहुँच र समग्र अधिकार सुनिश्चित गर्न आवश्यक रणनीति तथा सुझावहरू प्रस्तुत गरेका थिए ।








