महोत्तरी - मटिहानी नगरपालिकाले पालिका तथा वडाबाट प्रवाह गरिने सेवाहरू जनताको घरदैलोमै पुर्याउने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविर–२०८२ आज सम्पन्न भएको छ ।पौष ८ गते मटिहानी नगरपालिका–१ सिरसियाबाट सुरु भएको शिविर वडा नं. ९ मा आइपुगेर समापन भएको हो । नौ दिनसम्म सञ्चालन गरिएको शिविरबाट नगरपालिकाभरिका ७ हजार ९ सय ९ सेवाग्राही लाभान्वित भएका छन् ।

समापन समारोहमा नगर प्रमुख हरि प्रसाद मण्डलले एकीकृत रूपमा सेवा प्रवाह गर्दा जनताका गुनासा बुझ्न र त्यसअनुसार विकासका कार्यक्रम तय गर्न सहज भएको बताउनुभयो । उहाँले पालिकाको सेवा जनताको घरदैलोमै पुर्याउन पाउँदा आफूहरू अत्यन्तै उत्साहित भएको उल्लेख गर्नुभयो ।

शिविर अवधिमा १ सय ६ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको, ३ जनाबाट अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन गरिएको पालिकाले जनाएको छ । यस्तै १ हजार ६ सय ३२ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, २ हजार ३ सय १ जना किसानलाई तरकारीको मिनी किट वितरण गरिएको छ ।

यसैगरी २ हजार ८ सय ४९ पशुहरूको निःशुल्क उपचार तथा औषधि वितरण, ६२ जनालाई व्यक्तिगत घटना दर्तालगायत वडाबाट प्रवाह हुने सेवा, ८ सय ७१ जनालाई आयुर्वेद सेवा तथा ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिएको पालिकाले जनाएको छ।

वडा नं. ९ का वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पूर्व सांसद रामचन्द्र तिवारी, पूर्व स्वास्थ्य सह–सचिव गरीब दास ठाकुर, उपप्रमुख मञ्जु देवी साह, नौ वटै वडाका वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्य, वडा सचिव, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।







