जनकपुरधाम । मिथिलाको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनकपुरधाममा मिथिला पहिरन दिवस मनाइएको छ ।
जानकी मन्दिर परिसरलाई केन्द्र बनाएर आयोजित कार्यक्रममा मिथिलाका परम्परागत पहिरनमा सजिएका सहभागीहरूले सांस्कृतिक गौरव झल्काउने प्रदर्शन गरेका थिए ।
हिन्दु सम्राट सेना नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरू धोती, कुर्ता, गमछा, तथा मिथिलानी साडीमा सजिएर उपस्थित भएका थिए ।
‘धोती, कुर्ता, गमछा, हाम्रो पहिचान हो’ भन्ने सन्देशसहित प्रदर्शन गरिएको ब्यानरमार्फत मिथिला संस्कृतिको संरक्षण नगरे हराउँदै जाने खतरा औँल्याइएको थियो ।
कार्यक्रममा सहभागीहरूले ‘हम सब मैथिल छी’ भन्ने नारा लगाउँदै मिथिलाको भाषा, भेषभूषा र संस्कृतिलाई पुस्तान्तरण गर्दै जोगाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले आधुनिकताका नाममा मौलिक पहिरन र संस्कृतिलाई विस्थापित गर्न नहुने धारणा व्यक्त गर्दै राज्यस्तरबाट समेत मिथिला पहिरनको संरक्षण र प्रवर्द्धनका लागि पहल हुनुपर्ने माग राखे ।
आयोजकले मिथिला पहिरन दिवस एउटा औपचारिक कार्यक्रम नभई पहिचानको आन्दोलन भएको बताए । ‘मिथिलाको पहिरन हाम्रो आत्मसम्मान हो । यसलाई संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो,’ उनीहरूको भनाइ थियो ।
आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै मिथिला संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान अघि बढाइने जनाएका छन् ।




