कुलमान घिसिङ–रवि लामिछानेको राजनीतिक सहकार्य १२ दिनमा भत्कियो । पुस १४ गते उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको थियो । घिसिङकै उपस्थितिमा उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमतिमा हस्ताक्षर गरेका थिए । उज्यालो पार्टी नेपालले समानुपातिक उम्मेदवारको भिन्नै सूचीसमेत बुझाएन ।
१२ दिनपछि पुस २६ गते कुलमानले रास्वपासँगको सहकार्य टुटेको र उज्यालो नेपाल पार्टी ब्युँतिएको घोषणा गरे । उनले रास्वपा र लामिछानेले ‘धोकैधोका’ दिएको लामो सूची बनाए । सूचीमा वैचारिकदेखि व्यावहारिक विषयसम्म छन् । रास्वपलाले ‘गणतन्त्र, संघीयता, समानुपातिकता, धर्म निरपेक्षता, सामाजिक न्याय, बहुसाँस्कृतिकतावाद’ मा सहमति जनाउन नमानेकोदेखि सामानुपातिक सूचीमा उज्यालो नेपालले कम प्राथमिकता पाएको, कुलमानको वरीयताक्रम अपमानजनक भएको जस्ता कुरा छन् ।



बालेन, कुलमान र रविको गठजोडले नयाँहरूको एउटै केन्द्र बनेको भन्दै प्रियतावादी शक्ति र समर्थक उत्साहित थिए । कांग्रेस–कम्युनिस्टजस्ता पुराना दलहरूलाई हराउन वा ‘बदला लिन’ उपयोगी हुने तिनको धारणा थियो । ती भन्दै थिए–‘भविष्यका कुरा देखा जाला, अहिले पुरानालाई हराउन सकियो भने यही उपलब्धि हो । बालेन, कुलमान र रवि मिलेपछि अब ओली, देउवा र प्रचण्डलाई चखाइन्छ ।’
कतिपयले हतारमा टिप्पणी लेखे–‘पुराना त्रिमूर्तिविरुद्ध नयाँ त्रिमूर्ति ।’
तर, तिनको आशा र उत्साह दुई हप्ता पनि टिकेन । यस्ता टिप्पणी अल्पसमयमै असान्दर्भिक भए । कुलमानपक्ष सहकार्यबाट बाहिर निस्किएसँगै रास्वपामा एक प्रकारको सान्नाटा र स्तब्धता छाएको छ । रास्वपा समर्थक निराशा र चिन्तित देखिन्छन् । अझ एक कदम अघि बढेर खिन्नता, निराशा र चिन्ता व्यक्त गर्न थालिएको छ–‘बालेनको पनि के भर !’
बालेन–रवि गठजोड कति दिन टिक्ला ? यस्तो प्रश्न उठ्न थालेको छ ।
पार्टी प्रवेशपछि बालेन्द्र शाह अहिलेसम्म रास्वपा पार्टी कार्यालय गएका छैनन् । उनी अन्यत्रैबाट भित्रभित्रै भेटघाट गरिरहेका छन् । लोकतन्त्रका ‘भावी प्रधानमन्त्री’ सार्वजनिक जीवनमा कतै देखिएका छैनन् । न त पत्रकार सम्मेलन गरेका छन्, न कुनै सार्वजनिक सम्बोधन गरेका छन् न त चुनावी अभियान नै सुरु गरेका छन् ।
माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा गरी चुनावी अभियान थाल्ने उनको सोच छ । बालेनका लागि उनको सहयोगी समूहले उपयुक्त निर्वाचन क्षेत्रको अध्ययन गरिरहेको छ । अहिलेसम्म काठमाडौं–२ र झापा–५ को विकल्पमा छलफल भइरहेको बताइन्छ ।
बालेनपक्षले रवि लामिछानेसँगको सहकार्य र रास्वपा प्रवेशलाई राजनीतिक बाध्यताका रूपमा लिएको स्रोतको भनाई छ । बालेनपक्षबाट रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार बालेन आफैँ रवि लामिछानेसँगको सम्बन्धमा खासै ‘कम्फर्टेबल’ छैनन् । लामिछाने र रास्वपासँगको सम्बन्ध दिगो नहुने सम्भावनाले उनी चिन्तित छन् । उनी रवि लामिछानेका नैतिक संकटबारे बोल्ने र बचाउ गर्ने पक्षमा पनि छैनन् ।
ती केन्द्रीय सदस्यका अनुसार बालेनले आफूनिकटलाई–‘चुनावले गर्दा बाध्यता आइपर्यो, जेन जी नेताहरूले मिल्न दबाब गरे, नमिले पुरानै पार्टी र नेता सत्तामा आउँछन्, हामी सबैलाई जेल हाल्छन् भन्ने कुरा धेरै आयो । छोटो समयमा अर्को पार्टी बनाएर जाने संभावना कमजोर भयो । तर, हामी भिन्नै हौँ, कुनै दिन छुट्नुपर्ने हुन सक्दछ भन्ने होसियारीसहित रास्वापमा काम गरौँ’ भन्ने गरेका छन् ।
खगेन्द्र सुनार, प्रकाश सपुतजस्ता केही सेलिब्रेटी रवि र रास्वपालाई होइन, बालेनको यस्तो आग्रहलाई स्वीकार गर्दै रास्वपा प्रवेश गरेको बताइन्छ । सुदन गुरुङले समेत बालेनपक्षबाट भूमिका गर्ने गरेका थिए ।
कुलमानलाई मिलाएको दिन बालेनले फेसबुक स्टाटस लेखेका थिए–‘बाबु सुदन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नु भएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सन सक्ने छैन ।’
तर, कुलमानको बहिर्गमनपछि तिनै गुरुङ दिक्दारी व्यक्त गर्दै छन् । उनी आफैँ गोर्खा–१ बट चुनाव लड्ने तयारीमा छन् ।
रवि लामिछानेपक्षधरले भने घटनाक्रमलाई सतर्कतापूर्वक नियालिरहेको बताइन्छ । यो समूह पार्टीमा आफ्नो पक्षको वर्चस्वमा असर नपर्ने गरी अरुलाई भागवण्डा मिलाउने रणनीतिमा छ । तसर्थ, उज्यालो नेपाललाई समानुपातिक सूचीमा १८ उच्च स्थान दिने भनिए पनि १४ मात्र त्यो कम प्राथमिकताको स्थानमा दिइयो । बालेनपक्षको प्रवेशले रास्वपाको ‘प्राइमारी’ अर्थहीन बन्न पुगेको छ ।
प्रतिउम्मेदवार ५० हजार शुल्क लिएर गरिएको प्राइमरीले कुनै अर्थ नराखेपछि असन्तुष्ट हुनेहरूको भिन्नै लहर चलेको छ । ती रास्वपा पनि पुरानाजस्तै छलछामवाला पार्टी भइसकेको आरोप लगाउँछन् । कतिपयले समानुपातिक सूचीबाट नाम नै फिर्ता लिएका छन् ।
बालेन, कुलमान मिसिनुअघि नै रास्वपाभित्र आन्तरिक विवाद छँदै थियो । पार्टी रवि लामिछानेको ‘व्यक्तिपूजा’ तिर लागेको भन्दै सन्तोष परियार, सुमना श्रेष्ठले पार्टी परित्याग गरेका थिए । पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी र सर्वोच्च अदालतमा दोहोरो पासपोर्ट प्रयोग र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको सन्दर्भमा लामिछाने कानुनी अनिश्चयको सिकार थिए ।
चुनावमा उम्मेदवार हुन पाउने तर जिते सांसद पद नै निलम्बित हुने कानुनी विरोधाभाषको स्थिति बुझेरै लामिछानेले बालेनलाई ‘भावी प्रधानमन्त्री’ स्वीकार गरे । तर, लामछिानेपक्षले यसलाई ‘त्याग’ का रूपमा चित्रण गर्यो । कदाचित् बालेन प्रधानमन्त्री भए आफ्ना सबै मुद्दा सरकारले फिर्ता लिइदेला भन्ने झिनो आशा लामिछानेले साँचेका छन् ।
यसर्थ योपक्ष पार्टी नेतृत्वमा वर्चस्व कायम राख्न कुनै कसर बाँकी राख्न नहुने बुझाइमा छ । तर, देशको संवैधानिक प्रावधानअनुरूप पार्टीको महाधिवेशन गर्नैपर्ने छ । बालेनपक्षले यो बिन्दुमा पुगेर पार्टी कब्जा गर्न सकिने भन्दै आफ्ना समर्थकलाई ढाडस दिने गरेको छ ।
अर्कोतिर जेन जी आन्दोलनले लामिछानेको ‘जेल ब्रेक’ लाई समर्थन नगरेको कारण पार्टीको छवि निरन्तर धुमिल हुँदै गएको थियो । जेन जी आन्दोलनअघि पुरानै दलहरूसँग मिलेर सत्ता सहकार्य गरेको दोष मेट्न नयाँको साथ चहिएको थियो । बालेनसँगको गठजोडले रास्वपलाई यस मानेमा भने केही फाइदा भएको छ ।
तर, रास्वपा र बालेनको भोटबैंक विगतदेखि नै एउटै भएको हुँदा जनमत अपेक्षित वृद्धि होला वा नहोला ? विशेषतः हर्क साम्पाङको श्रम संस्कृति पार्टी र कुलमानको उज्यालो पार्टीेले नयाँ पार्टीलाई मत दिन चाहने विभक्त हुने हुँदा पार्टी ‘साइज’ को समेत चिन्ता गरिदैछ ।
निर्वाचनमा यथोचित भोट नआए र रास्वपा मध्यम आकारको पार्टीमै सीमित भए बालेन–लामिछाने सहकार्यको राजनीतिक औचित्य नै समाप्त हुनेछ । न बालेन प्रधानमन्त्री हुनेछन् न रास्वपामा लामिछानेलाई चुनौती दिने नै कोही रहनेछ ।
बालेन प्रत्यक्ष निर्वाचनको फाइदा उठाएर स्वतन्त्र उम्मेदवारको हैसियतमा काठमाडौंको मेयर निर्वाचित भएका थिए । संसदीय प्रणाली र निर्वाचनमा ‘बालेन फ्याक्टर’ को प्रभावकारिता कति रहन्छ वा रहँदैन, त्यो अर्को महत्त्वपूर्ण पाटो हो ।
संसदीय निर्वाचनमा हरेक निर्वाचन क्षेत्रका आआफ्नै मौलिकता हुन्छन् । कुन दलबाट को उम्मेदवार छ भन्ने कुराले पनि मतदान प्रवृत्तिलाई प्रभावित गर्दछ । मतदताले स्थानीय विकासका लागि उपयोगी हुने वा स्थानीय रूपमा सामुदायिक समीकरण मिल्ने उम्मेदवार मन पराउने विगतको अनुभव रहँदै आएको छ । बालेनलाई भावी प्रधानमन्त्री घोषणा गर्दा परम्परागत मतदान प्रवृत्ति प्रभावित होला कि कायमै रहला ?
बालेन अब ‘भावी प्रधानमन्त्री’ को एक्लो उम्मेदवार रहेनन् । श्रम संस्कृति पार्टीले हर्क साम्पाङ र उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई ‘भावी प्रधानमन्त्री’ कै रूपमा प्रस्तुत गर्दै छ ।
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरे नेपाली कांग्रेसबाट गगनकुमार थापा घोषित, अघोषित भावी प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । ‘गगन फ्याक्टर’ ले नयाँ पार्टीको भोट प्रभावित गर्नेछ । बालेन, हर्क, कुलमानभन्दा गगन भावी प्रधानमन्त्रीको दौडमा भारी देखिन सक्दछन् । ओली– देउवा, प्रचण्ड पुस्ताको नेतृत्वबाट आजित भएर टाढिएका मतदाता गगनको आकर्षणले फर्किने सम्भावना रहन्छ ।
निर्वाचनसम्म जसोतसो टिके भाग्य हो– बालेन–रवि सहकार्य धेरै लामो जान सक्ने आधार भने कमजोर छन् ।-नेपाल भ्युज




