२०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा वीरेन्द्र-ऐश्वर्य परिवारका अधिकांश सदस्य मारिएपछि राजाको अपुताली खान पाए ज्ञानेन्द्र शाहले। राजा भएपछि "आफ्ना दाजु वीरेन्द्रझैँ टुलुटुलु हेरेर नबस्ने" घोषणा गरेका शाहले ०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्दै २०४७ सालको संविधान च्यात्ने कुचेष्टा गरे। संवैधानिक राजाले आफूखुसी शासकीय अभ्यास थाले। उत्ताउलिँदै गएका शाहले २०६१ साल माघ १९ गते पुनः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाएर आफैलाई मन्त्रिपरिषद्को अध्यक्ष (प्रधानमन्त्री सरह) घोषणा गरे। प्रारम्भदेखि नै राजाको असंवैधानिक सक्रियता दलहरूले मान्ने कुरा थिएन र तिनले राजाको कदमविरुद्ध सडक प्रदर्शनको आह्वान गरे, गरिरहेका थिए।
माओवादीले गाउँ ठाउँमा 'जनसरकार' भन्दै समानान्तर सत्ताको अभ्यास गरिरहेको त्यस बेला कांग्रेस र एमालेले प्रजातान्त्रिक शासन व्यवस्थामा झन्डै डेढ दशक तर मारिसकेका थिए। माओवादी जनयुद्धका कारण गाउँ ठाउँमा विकाश निर्माण र भौतिक पूर्वाधार झन्डै अवरुद्ध थियो। कतिपय ठाउँमा माओवादीले सडक, पुल र टेलिफोन पूर्वाधार भत्काएका थिए। प्रदेश सरकार नभएको त्यस समयमा सिंहदरबार-सरकारको पूरै तागत माओवादी 'व्यवस्थापन'मा थियो। स्थानीय निकाय सदरमुकाममा डेरा खोज्दै आइपुगेका थिए। दुवैतर्फको हिंसाले सिर्जना गरेको 'फ्रस्टेसन' छँदै थियो, कांग्रेस-एमालेको कुशासनले जनता खुसी थिएनन्। मिडियाहरू 'किन भए जनता निराश?' हेडलाइन छाप्दै थिए। यस्तो अवस्थामा काँग्रेस र एमालेमा जनसमुदायलाई अपिल गर्न सक्ने खासै अनुहार थिएनन्।
पञ्चायतविरुद्ध लडेका र जेलनेल भोगेका नेताहरू थेत्तरो हुँदै थिए। आजझैँ इन्टरनेट र मोबाइल टेलिफोन व्यापक नभएको त्यस युगमा एफएम र अन्य परम्परागत छापा माध्यमबाट कुनै 'जादुई नेता' उदाउन सकिरहेको थिएन, जसले आम जनमतलाई व्यापक प्रभावित पारोस्। बरु जंगल/प्रवासमा रहेर राज्यविरुद्ध लडिरहेका प्रचण्ड र बाबुराम 'जादुई नाम' थिए। 'बाबुराम जोगीको भेषमा देशभर डुल्छन् रे! सार्है विद्वान छन् रे,' सर्वसाधारण यसो भन्थे। कतिपयचाहिँ 'प्रचण्ड नामको व्यक्ति नै छैन रे। बाबुराम नै प्रचण्ड हो रे!,' समेत भन्थे।
यस्तोमा सडकमा कांग्रेस र एमालेलगायत दलहरूले राजाको कदमविरुद्ध प्रदर्शन थाले पनि जनसहभागिता टिठलाग्दो थियो। (राज्यसँग युद्धमै भएकाले उतिखेर संसदीय प्रक्रियामा आइपुगेको थिएन माओवादी।) प्रजातन्त्र पुनः प्राप्तिको डेढ दशकको अवधिमा शासन सत्तामा जोडिएर 'गन्हाएकै'हरू सडकमा आउँदा नागरिकले तिनलाई पत्याउन सकिरहेका थिएनन्। राजाको कदम विरुद्धको आन्दोलन कर्मकाण्डमा सीमित भइरहेको थियो। आरआर क्याम्पसको अखिलको प्रतिनिधिको रूपमा कक्षा हापेरै भए पनि पङ्क्तिकार नियमितजसो रत्नपार्क र बागबजारका प्रदर्शनहरूमा लन्ठिइरहन्थ्यो। विरोध-प्रदर्शनहरू उतिखेर काठमाडौँको रत्नपार्क वरपर नै हुन्थे।
पछि मात्रै त्यो माइतीघर मण्डलमा सरेको थियो।
आरआर-बाल्मिकी-ल-विश्वभाषा, त्रिचन्द्र, शंकरदेव, अमृत साइन्स क्याम्पस-सरस्वती क्याम्पस अगाडिको सडकमा हामी विद्यार्थीले 'राज कदम'विरुद्ध टायर दहन र सडक अवरुद्ध गर्दै गर्दा यता रत्नपार्क आसपास कांग्रेस-एमाले-सद्भावनालगायत दलहरूको झ्याउलाग्दो प्रदर्शन भइरहेको थियो। सम्मुखैको नेपाली जामे मस्जिदनजिकै थियो एमाले विद्यार्थी संगठनको कार्यालय–जसलाई रातो घर भनिन्थ्यो (अहिले त्यो भवन छैन)। ठूलो विद्यार्थी संगठनको कार्यालय नजिकै हुँदासमेत प्रदर्शनले गति नलिएको देख्दा दिक्क लाग्थ्यो। बाल्यकालमै 'वामे'हरूबाट 'राजा-महाराजाबिरोधी दीक्षा' लिएकाले होला, राजाको शासन उखेलेर फ्याँक्ने हुटहुटी थियो पंक्तिकारमा।
तर उतिखेर दलहरूको चालामाला देख्दा खुइय काढ्नुबाहेक विकल्प थिएन। यस्तोमा कुनै दिन आरआरबाट रत्नपार्कको जुलुसमा सहभागी हुन जाँदै गर्दा त्रिचन्द्र क्याम्पसको पर्खालमा उभिएर एउटा अग्लो युवाले भाषण गरिरहेको देखियो। उसको वरपर दर्जनौँ युवा विद्यार्थी झुम्मिएका देखिन्थे। भीड बढ्दै जाँदा बेलाबेला त्यसले जोडजोडका साथ ताली बजाइरहेको थियो, सिटी लगाइरहेको थियो। नजिकै पुगेर भाषण सुन्दा त्यो वास्तवमै 'अपिलिङ' थियो। कांग्रेसका नेता कार्यकर्ता कम्युनिस्टहरूझैँ भाषण गर्न जान्दैनन् भन्ने भाष्य स्थापित भएको त्यस समयमा गगनको भाषण युवा विद्यार्थीको रगत उमाल्ने तागत राख्थ्यो। घण्टाघरअघि युवाहरू उम्लिरहेका थिए।
राजाको प्रतिगमनपूर्व नेविसंघ र अखिल कार्यकर्ताले एकर्अकालाई कुकुर बिरालोझैँ देख्थे। आआफ्ना कार्यकर्तालाई सानैदेखि कांग्रेस र एमालेले पिलाएको घृणा र अफवाहको लाखौँ शिकारमध्ये थियो पङ्क्तिकार। नेविसंघको मसाल र कलमअंकित चिन्ह देख्नेबित्तिकै उसलाई 'गुण्डाहरूको मसाल'झैँ प्रतीत हुन्थ्यो। तर गगनको एक भाषणले नै पङ्क्तिकार बदलियो। निरंकुश र जहानियाँ शासनबिरूद्ध बोल्ने नवयुवा, अरे वा! नेविसंघमा यस्ता नेतासमेत हुने रहेछन्। पक्कै यस युवाले गणतन्त्रको आन्दोलन हाँक्नेछ। नभन्दै त्यस युवाले गणतन्त्रको आन्दोलनमा प्रखर भूमिका खेल्यो। संवैधानिक राजतन्त्रको वकालत गर्ने पार्टीमा गगन र नरहरि आचार्य नै भए, जसले गणतन्त्रको मसाल बोके। पार्टीलाई त्यतै लघारे।
उसो त एमाले विद्यार्थी संगठन (अनेरास्ववियु) का राजेन्द्र राई, रामकुमारी झाँक्री, ठाकुर गैरे र कांग्रेस विद्यार्थी संगठन (नेविसंघ) का गुरुराज घिमिरे, कुन्दनराज काफ्लेहरू विद्यार्थी नेताका रूपमा उतिखेर प्रतिगमनविरुद्धको आन्दोलनमा थिए, तर गगनको जोसिलो भाषण गणतान्त्रिक माहौल तयार पार्न क्याटलिस्टको भूमिका खेल्दै थियो। प्रतिगमन विरोधी आन्दोलनबाट गगनले आफूलाई गणतन्त्रवादी नेताका रूपमा छिट्टै स्थापित गरे। उनी राजाकै शासनकालमा राजकाज मुद्दामा केही समय जेल पनि परे। उसो त गगनहरूसँगै गणतन्त्रको शान्तिपूर्ण सडक आन्दोलन (राजतन्त्र फाल्नका लागि जंगल र गाउँघरमा माओवादी लडिरहेको थियो) उकास्न कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे, लक्ष्मण अर्याल, अर्जुन पराजुली, कृष्ण खनाल, कनकमणि दीक्षित, खगेन्द्र सङ्ग्रौला आदिहरूले उठाएको नागरिक आन्दोलनको उत्तिकै भूमिका थियो।
नागरिक आन्दोलनमा छायादेवी पराजुली, मणि काफ्ले र रूबिन गन्धर्वहरू बिस्तारै चिनिने नाम बन्दै गएका थिए। सबैको समुच्चय बिस्तारै जनआन्दोलनले गति लिएको थियो। अन्ततः वैशाख ११, २०६३ दोस्रो जनआन्दोलन सफल भयो। जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
गणतन्त्रका अनेकन् नागरिक नायकमध्ये प्रखर नायक हुन् र थिए गगन। राजाविरुद्धको आन्दोलनबाट उदाएका गगनले पछिल्लो पटक पार्टीभित्रको निरंकुशताबिरूद्ध काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गराएर भव्य-वैधानिक विद्रोह गरेका छन्। विशेष महाधिवेशन त्यस दलका कार्यकर्ता र महाधिवशेन प्रतिनिधिलाई दिएको विशेष अधिकार/व्यवस्था हो। तलबाट वैधानिक तवरले माथि रहेको शक्ति हत्याउने यो साँच्चै सुन्दर व्यवस्था हो। पुराना पार्टी सबै भ्रष्ट हुन् भन्ने भाष्य स्थापित हुँदै गर्दा गगनले कांग्रेसलाई प्रस्ट बनाउने मसाल बोकेका छन्।
जेनजी विद्रोहको आह्वानलाई परिपक्व सम्बोधन गर्दै भदौ २४ मा भएको घुसपैठ र हिंसाको अनुसन्धानको पक्षमा छन्।
बाउबाजे/आमा हजुरआमाको पालादेखिको संघर्षको परिणाम हो हाम्रो आजको संविधान। गणतन्त्र, धर्म निरपेक्षता र समावेशीलगायत मुद्दा यस संविधानको मूल मर्म हो। गगनलाई पनि कतिपयलाई पपुलिस्टको आरोप लगाइरहँदा उनी क्रमशः विकाश भएका परिपक्व तर प्रगतिशील नेता हुन्। आजको पपुलिजमलाई काउन्टर गर्न सक्ने एउटा भरपर्दो अनुहार हुन्। सामाजिक प्रजातन्त्रको मूल्य बोकेका व्यक्ति हुन्। सबैजसो पार्टीमा नेतृत्वको 'स्वर्णआरती' भइरहँदा 'दाइ, समयको माग बुझ्नुहोस्। अब कुर्सी छाड्नुहोस्' भन्ने बहादुर हुन्।
शुक्रबार साँझ निर्वाचन आयाेगले महाधिवेशनकाे नयाँ कार्यसमितिकाे विवरण अद्यावधिक गरेसँगै गगन थापा नेपाली कांग्रेसकाे सभापति पक्का भएका छन्। भृकुटीमण्डपमा गगनहरूले बालेको विद्रोहको फ्ल्यासलाइट जिउँदा राजनीतिक कार्यकर्ताहरूका लागि प्रेरणा हो। कुनै बेला त्रिचन्द्रको पर्खाल चढेर गणतन्त्रको हुँकार गर्ने केटाले आज गणतन्त्रप्रतिको जिम्मेवारी बहन गरेको छ। ‘दास र लास’हरूले घेरिएको राजनीतिमा अलिकति आस जिउँदै छ।-उकालो डटकम




