बताउन त म तपाईंलाई धेरै कुरा सक्छु, तर जाँगर चल्दैन । बरु टुक्रा–टुक्रामा बताउँदा मलाई फाइदा हुन्छ । पत्रकारिता र राजनीति भनेको कहिल्यै नसकिने टेलिभिजन सिरियलजस्तै हो । स्टार प्लसमा १२ जनवरी २००९ देखि सुरु भएर अझै चल्दै छ– ‘ये रिश्ता क्या कहलाता है !’
नेपालमा अहिले व्यापक राजनीतिक ध्रुवीकरण हुँदै छ । २३ र २४ भदौको जेन–जी आन्दोलन र आगजनीपछि यो ध्रुवीकरण अपरिहार्य थियो । त्यो जेन–जी आन्दोलन र आगजनीको ‘बैठान’ गर्न विभिन्न शक्तिहरूका लागि जरुरी थियो ।
अब हुन गइरहेको निर्वाचन त्यही बैठानका लागि निकालिएको एउटा तत्कालीन समाधानको उचित उपाय हो । तपाईंले देखेका बाँकी घटना–दुर्घटना त्यसै उपायका बाई प्रोडक्ट हुन् ।
नेपालको सन्दर्भमा यहाँको मूल शक्ति भनेका आन्तरिक शक्ति हुन् । सहायक शक्ति भनेका हाम्रा तीन छिमेकी राष्ट्र हुन् । हाम्रा तीन छिमेकी भन्नाले दुई धरतीबाट जोडिएका छिमेकी र एउटा आकाशबाट जोडिएको छिमेकी– अमेरिका ।
अमेरिकालाई कसैले चाहे पनि नचाहे पनि, उसलाई मन लागेको बेला जुनसुकै देशको छिमेकी बनेर आइपुग्छ । भरखरै मात्र भारतमा अमेरिकी राष्ट्रपति ट्रम्पका धेरैनजिकका मान्छे सर्जियो गोर राजदूत बनेर आएका छन् । उनी भारतका लागि मात्र आवासीय राजदूत होइनन्, सम्पूर्ण दक्षिण र मध्य एसियाका लागि अमेरिकी विशेष दूत पनि हुन् ।
भारत र चीनको त कुरै भएन । नेपालमा उनीहरूको रुचि र संलग्नता त हुने नै भयो । हाम्रा तीन छिमेकीको सक्रियता कहिले बढ्छ, कहिले घट्छ- दुनियाँभरि यस्तै हो । संसार व्यापक ध्रुवीकरणको संघारमा छ ।
नेपालको मूल शक्ति आन्तरिक हो- हुनुपर्छ भन्ने मेरो मान्यता छ । नेपालको आन्तरिक राजनीतिक शक्ति भन्नाले यहाँका राजनीतिक दल हुन् । आन्तरिक शक्तिको कुरा गर्दा हामीले पूर्वराजा ज्ञानेन्द्रलाई पनि स्मरणमा राख्नुपर्छ, जससँग हाल संवैधानिक शक्ति नभए पनि उलेख्य सामाजिक–सांस्कृतिक प्रभाव छ ।
पूर्वराजा ज्ञानेन्द्रले चाहेको भए सायद २४ भदौपछि उनी तेस्रोपटक देशको राजा हुन सक्थे । मलाई उनीसँग कुनै अन्तर्वार्ता गर्ने वा उनको जीवनी लेख्ने रहर छ ।
यो त भयो पछिको कुरा । अहिले म शिलापत्रका निम्ति ‘अनकट’ लेख्दै छु ।
हिजो यसै स्तम्भका लागि भनेर लेखेको अलि लामो अंश मैले आफ्ना सामाजिक सञ्जाल साइटहरूमा पोस्ट गरेको थिएँ । आज खोलेर हेर्दा निकै धेरै पाठकले पढिसकेको देखेर आज यहाँ दोहोर्याउन मन लागेन । आजको दिनमा नेपालको आन्तरिक राजनीति चार नामको सेरोफेरोमा देखिन्छ– रवि लामिछाने र बालेन शाहको रास्वपा । केपी ओली नेतृत्वको एमाले यो व्यापक ध्रुवीकरणको एउटा ध्रुव (Pole) का रूपमा खडा छ । तेस्रो– गगन थापा नेतृत्वको कांग्रेस ।
चुनावअघि यो स्थिति हो । स्पष्ट बहुमत कसैको नआए हरेक साना दलको ढोका चहार्नुपर्ने हुन्छ, ठूला भनिएका नेताहरूले । राजनीति बडो निर्मम खेल पनि हो ।
रास्वपा र एमाले एकत्रित छन् । कांग्रेस मानसिक रूपले नै विभाजित छ । किसुनजीलाई हराउन गिरिजाप्रसाद कोइरालाले रोपेको अन्तर्धातको बिरुवा यसपटक बटवृक्ष बनेर देखा पर्ने प्रारम्भिक संकेत देखिन थालेका छन् ।
प्रधानमन्त्री पदका दाबेदार बालेन शाहबारे सोच्दै छु । उनले चाहेमा जेन–जी आन्दोलनपछि सजिलै प्रधानमन्त्री हुन सक्थे । हातमा सजिलै आएको प्रधानमन्त्री पदको क्याच छोडिदिए भनौँ वा लिन चाहेनन् भनौँ ।
पद त आज पनि उही नै हो, प्रधानमन्त्री । चाहेको भए बालेनले उसै दिन लिन सक्थे । लिएनन् ।
बालेनले जनताको विश्वास जितेर त्यो पद लिने भीष्म अठोट गरेका छन्- त्यो पनि नेपाली राजनीतिका महारथी केपी ओलीलाई खिलाफ उभिएर । रवि लामिछानेको नेतृत्वको घण्टी चिह्नको सहारामा ।
केपी ओलीजीका जेन–जी आन्दोलनबारे आफ्नै धारणा छन् । एक हिसाबले भन्ने हो भने झापाको यो चुनाव त्यस विषयमा मिनी जनमतसंग्रह पनि हुनेछ ।
झापा – ५ को चुनाव गज्जब हुनेछ । जो जिते पनि प्रधानमन्त्रीको दाबेदार हुनेछ ।
प्रिय पाठक, मलाई थाहा छ– तपाईं अझ ताजा राजनीतिबारे पढ्न चाहनुहुन्छ । तर, म तपाईंलाई अरु कुरा पनि बताउन चाहन्छु । म परालको आगो मात्र होइन, अग्राखको काठ पनि त हुँ नि ।
त्यसैले म पहिला पत्रकार थिएँ, त्यसपछि लेखक भएँ । पत्रकारका रूपमा मैले कैयौँ निर्वाचन ‘कभर’ गरेँ । टेलिभिजनका लागि गरेको ‘इलेक्सन कभरेज’को दौडधुप अझै सम्झन्छु । कुनै युगमा ‘नेसनल मिडिया’ भनिने छापाहरूको चुनावी हेडलाइन स्टोरीहरू पनि लेखेँ ।
यो ‘नेसनल मिडिया’ भन्ने शब्द डिजिटल युगअघिको हो, जब सञ्चारमाध्यमहरू देशको राजधानीमा वा देशको सीमाभित्र केन्द्रित थिए । डिजिटल क्रान्तिपछि सञ्चारमाध्यमहरू विश्वव्यापी, सीमाविहीन र डिजिटल प्लेटफर्ममा आधारित भएका छन् । त्यसैले आजको सन्दर्भमा ‘राष्ट्रिय मिडिया’ भन्ने शब्द लगभग अर्थहीन भएको छ ।
रास्वपा र एमाले एकत्रित छन् । कांग्रेस मानसिक रूपले नै विभाजित छ । किसुनजीलाई हराउन गिरिजाप्रसाद कोइरालाले रोपेको अन्तर्घातको बिरुवा यसपटक बटवृक्ष बनेर देखा पर्ने प्रारम्भिक संकेत देखिन थालेका छन् ।
हात–हातमा मोबाइल पुगेपछि को पत्रकार हो, को होइन ? यसै भन्न सकिने स्थिति रहेन । पत्रकारिता ‘फुल टाइम’ काम हो कि यसो हल्लिने ठाउँ हो ? यसै भन्न सकिँदैन । डिजिटल क्रान्तिका कारण कैयौँ पेसामा ‘इन्ट्री ब्यारियर’ हटेका छन् - जस्तै पत्रकारिता, राजनीति, विभिन्न व्यवसाय आदि ।
तर, यति हुँदाहुँदै पनि केही क्षेत्रमा प्रवेशमा सीमितता छन् । जस्तै; कुनै चल्तीको हिरो वा हिरोइन आफूले भनेको दिन राजनीतिमा पस्न सक्छ, तर कुनै राजनीतिक नेता वा नेतृ चाहँदैमा सिनेमाको हिरो वा हिरोइन हुन सक्दैन ।
लेखक चाहेको दिनमा पत्रकारको भूमिका निर्वाह गर्न सक्छ । तर, पत्रकारका लागि लेखकमा रुपान्तरण हुन त्यही अनुपातमा सजिलो हुँदैन ।
पत्रकारिताबाट करिअर सुरुवात गरेकाहरू केही विख्यात साहित्यकार बनेका छन् । जस्तै; हेमिङ्वे, जर्ज अर्वेल, ग्याब्रियल मार्केज, मार्क ट्वेन, रवीन्द्रनाथ ठाकुर, खुशवन्त सिंह, मदनमणि दीक्षित । आज पल–पलमा हेडलाइनमा आउने र हराउने झिनो स्मरणको युगमा पनि यिनीहरूले सिर्जना गरेका साहित्य अटल छन् ।
मदनमणि दीक्षित कैयौँ वर्ष ‘समीक्षा’ साप्ताहिकका सम्पादक थिए । उनले अनगिन्ती समाचार र सम्पादकीय लेखे । कसैले उनका हेडलाइन सम्झँदैन । तर, उनको हृदयको स्पन्दन कृति ‘माधवी’ उपन्यास अमर छ ।
किनभने पत्रकारिताभन्दा साहित्य र साहित्यभन्दा संगीत विधागत रूपमा नै उपल्लो स्तरको विधा हो । त्यसको खेलमैदान नै ठूलो हुन्छ ।
पत्रकारिताले तपाईंलाई नेताका सही वा गलत निर्णयबारे साँचो वा झुटो सूचना दिन सक्छ । तर, नेताले त्यो निर्णय कुन भावनाका कारण गर्यो, पृष्ठभूमिमा उसको मनमा के चलेको थियो - बताउँदैन ।
कुनै जमानामा गगन थापा वा विश्वप्रकाश शेरबहादुर देउवालाई भेट्न आतुर हुन्थे होला । वा भनौँ, युवा शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाको फोन आउनेबित्तिकै हतार–हतार दौडिँदै पुग्थे होला । कालान्तरमा के–के भयो– सबैलाई थाहा छ ।
सुरुका दिनमा उनका मनमा कस्ता भाव आउँथे ? आज एक–अर्काप्रति कस्ता भाव आउँछन् ? यहाँ म मनको भित्री कुनाका भावको कुरा गर्दै छु– मिडिया खपतका लागि प्लान्ट गरिएका सूचनाको होइन ।
मानवीय संवेदनाका जटिलतम भावनाको अभिव्यक्ति पत्रकारिता वा कुनै मामुली उपदेशात्मक स्तम्भ लेखनको विधागत क्षमताभन्दा बाहिरको कुरा हो । यो बलियो साहित्यको विषय हुन सक्छ– सिनेमाको पनि ।
आज मानिस गगन थापा, शेखर कोइराला, शेरबहादुर देउवाको कुरा गर्छन् । रवि लामिछाने वा बालेनबारे पोस्ट गर्नेबित्तिकै मेरो फेसबुकमा भ्युज लाखमा पुग्छ– जस्तो हिजो साँझ ।
मूर्खता र आतुरीवादले आफूलाई छोपेको बेला कहिलेकाहीँ सोच्छु– विगत २० वर्षका २० बेस्टसेलर सूचीमा पर्न १२ वर्षअघि प्रकाशित ‘खुसी’लाई कति वर्ष लाग्यो ! विचार त यस्तो पनि आउँछ, कुनै नयाँ गतिलो किताब लेख्नुको साटो बाँकी जीवन सामाजिक सञ्जालमै पोस्ट गरेर बिताइदिऊँ कि ! वर्ष दिनमा पचासौँ लाखौँ भ्युज त कतै नजा । अनि तत्काल मुन्टो हल्लाउँछु– हैट मूर्ख ! के सोचेको ?
१५ वर्षअघि काठमाडौंस्थित एक राजदूतले कार्यकाल सकेर फर्कन दुई दिनअघि मलाई भने, 'नेपालको राजनीतिको सार भनेको पाँच नेताको इगोको समजोड मात्र हो ।'
मैले प्रतिप्रश्न गरेँ, 'के तपाईंको देशमा पनि कुरा त्यही होइन र ? तपाईंकोमा इगोको संख्या कम–बेसी होला, तर सार एउटै होइन र ?'
सुनेर उनी अवाक् भए ।
पत्रकारका रूपमा मैले वा अरु कसैले पनि जेन–जी आन्दोलनदेखि अहिले म यो लेखिरहेको पलसम्म, घटेका सम्पूर्ण घटनाको चित्र पत्रकारितामार्फत पूर्ण रूपमा भन्न सक्दैनौँ । जति सकिन्थ्यो– त्यो पनि आजको नेपाली पत्रकारितामा सकिँदैन । किनभने पत्रकारिता धेरै हदसम्म मेकानिकल भइसकेको छ । कसले के लेख्छ र किन लेख्छ– धेरै हदसम्म सजिलै पूर्वानुमान गर्न सकिन्छ ।
नेता जस्ता छन्, त्यस्ता किन छन् ?
कार्यकर्ता त्यस्ता किन छन् ?
सेठ–साहु त्यस्ता किन छन् ?
पत्रकार, प्रकाशक, समाज सबै त्यस्ता किन छन् ?
नेता यात्राको सुरुमै खराब थिए कि हिँड्दै–हिँड्दै बाटोमा खराब बने ?
पत्रकारिताले यी गहिरा प्रश्नको सतहीबाहेक अर्को उत्तर दिन सक्दैन । उसले दिने उत्तर बासी, चिसो हुन्छ । कदाचित् तातो भए पनि त्यो उत्तरको आयु एक घण्टा, बढीमा एक हप्ता, एक महिना वा एक वर्ष मात्र हुन्छ । तर, सत्यको आयु मिडिया हेडलाइनको आयुभन्दा धेरै लामो हुन्छ ।
पूर्वअमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसको कालजयी भनाइ छ, ‘मिडियाका हेडलाइन र इतिहासका निर्णय विरलै मात्र एउटै प्रमाणित भएका छन् ।'
यी त भए अग्राख काठका कुरा– दीर्घकालीन साहित्यका कुरा । दन्किने परालका कुरा त सुरुवातमा भनिसकेँ ।
यति बुझ्दा हुन्छ– नेपालको राजनीतिमा ध्रुवीकरणको नयाँ चरण सुरु भएको छ । बताउन त म तपाईंलाई धेरै कुरा सक्छु । तर, आजलाई यत्ति नै है …!




