बर्दिबास । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले महोत्तरी जिल्लाका चारै निर्वाचन क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरी बलले सुरक्षा बेस स्थापना गरेका छन्।
सुरक्षा बेस स्थापना भएसँगै जिल्लाभर निर्वाचन लक्षित सुरक्षा व्यवस्था थप मजबुत बनाइएको सुरक्षा निकायले जनाएको छ। बिहीबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहभागितामा संयुक्त सुरक्षा गस्तीसमेत सुरु गरिएको छ।
नेपाली सेनाको परिकौलीस्थित गोरख गणका गणपति प्रमुख सेनानी रामप्रसाद लामिछानेका अनुसार निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बर्दिबासको गौरीडाँडा, क्षेत्र नं. २ को बलवा धमौरा, क्षेत्र नं. ३ को जलेश्वर र क्षेत्र नं. ४ को रामगोपालपुरमा सैनिक सुरक्षा बेस स्थापना गरी सुरक्षा परिचालन भइरहेको छ।
प्रमुख सेनानी लामिछानेले सुरक्षा बेस स्थापना भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा संयुक्त गस्ती तीव्र बनाइएको जानकारी दिनुभयो।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका एसपी शेरबहादुर अधिकारीले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार महोत्तरीका चारै निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सशस्त्र प्रहरी परिचालन गरिएको बताउनुभयो। उहाँका अनुसार निर्वाचन क्षेत्र नं. १ को बर्दिबासस्थित गौरीडाँडा, क्षेत्र नं. २ को बलवा–७ बनौटा, क्षेत्र नं. ३ को मलिवारास्थित सीमा सुरक्षा गुल्म जलेश्वर तथा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत सोनमा गाउँपालिकाको सीमावर्ती वडा नं. ३ रघुनाथपुरमा सुरक्षा बेस खडा गरिएको छ। ती बेसबाट एकल तथा संयुक्त सुरक्षा गस्ती सञ्चालन भइरहेको छ भने निर्वाचन अधिकृतका कार्यालयहरूलाई समेत सुरक्षा घेरामा राखिएको छ।
नेपाल प्रहरीले भने थप सुरक्षा बेसको आवश्यकता नरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माका अनुसार जिल्लाभर रहेका इलाका प्रहरी कार्यालय, थाना तथा चौकीबाटै निर्वाचन सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। “थप बेस स्थापना नगरी विद्यमान प्रहरी युनिटमार्फत संयुक्त सुरक्षा गस्ती सञ्चालन गरेर निर्वाचन सुरक्षालाई प्रभावकारी बनाइएको छ,” उहाँले बताउनुभयो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूले मतदातामा सुरक्षा अनुभूति दिलाउने, निर्भीक वातावरणमा मतदान सुनिश्चित गर्ने तथा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित संयुक्त सुरक्षा परिचालन गरिएको स्पष्ट पारेका छन्।




