धनुषा - धनुषामा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषा नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए। उपचारका लागि मोडल अस्पताल लालगढ लगिएकोमा चिकित्सकले साँझ करिब ७ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमले जानकारी दिनुभयो। फनैत कार्यालयको कामका लागि भरतपुरबाट धनुषा फर्किंदै हुनुहुन्थ्यो।
त्यसैगरी, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषा–९ का रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न तेल ट्याङ्कर, दुवै मोटरसाइकल र ट्याङ्कर चालक सुनसरीको उर्लाबारी–१ का ३६ वर्षीय दुर्गा माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




