राष्ट्रिय मुक्ति पार्टीको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार राजीव झाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष झालाई समर्थन गर्ने भएका छन् ।
उम्मेदवार राजीव झाका सहयोगी कृष्णा साहले जनाए अनुसार बुधबार घण्टी छापलाई समर्थन गर्ने निर्णय भएको छ । मंगलवार राति झाले आफ्ना निकटहरुसित समेत छलफल गरी रास्वपाका उम्मेदवारलगायतका नेताहरुसित छलफल गरेको साहले बताए। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी(रामुपा) को तर्फबाट जाँतो चुनाव चिह्न लिएर मैदानमा उत्रेका झाले प्रचार प्रसार पनि शुरु गरिसकेका थिए । रामुपाका महामन्त्री अनिल कुमार महासेठले जनाए अनुसार पार्टीगत रुपमा रास्वपासित कुनै सहमति भएको छैन ।
‘रामुपा र रास्वपाबीच पार्टीगतरुपमा एक अर्कालाई समर्थन गर्ने विषयमा कुनै निर्णय भएको छैन’ उनले भने, तर उम्मेदवारले नै रास्वपाको उम्मेदवारलाई समर्थन गर्ने विषयमा मलाई जानकारी छैन । महतो धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलो संसदीय निर्वाचन जितेका थिए ।
केही दिन अघि मात्र उनले नेतृत्व गरेको रामुपा धनुषाका अधिकांश नेताहरुले पार्टी परित्याग गरेका थिए ।रामुपा परित्याग गरेका नेताहरु जनता समाजवादी पार्टी(जसपा) नेपालमा प्रवेश गरिसकेका छन् । झाले पार्टीको दियोलाई चुनावसम्म बाल्न सकेनन् । उनी पनि रास्वपालाई समर्थन गर्ने भएको छ ।
रास्वपाका मधेश प्रदेश आरएटी विभागका प्रमुख अम्भु प्रसाद साहले बुधवार बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी समर्थन गर्ने कार्यक्रम रहेको बताएका छन् । ‘जाँतो छापका उम्मेदवार राजीव झाले समर्थन गरेको सार्वजनिक गर्न संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ’ उनले यसले रास्वपाका उम्मेदवारको पक्षमा जनलहर आउने छ ।


