महेन्द्रनगर (धनुषा)। नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को चुनाव प्रचार–प्रसार कार्यालय धनुषा क्षेत्र नं. ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरमा भव्य रुपमा उद्घाटन गरिएको छ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थापना गरिएको उक्त कार्यालयले अब क्षेत्रीय चुनावी गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ ।
धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रघुविर महासेठले महेन्द्रनगरस्थित हनुमान मन्दिरमा विशेष पूजाअर्चना गरी शुभारम्भ गर्नुभएको थियो । पूजापाठ पश्चात् विधिवत रुपमा चुनाव प्रचार–प्रसार कार्यालयको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रम अनिल कुमार चौधरी (नगर कमिटी अध्यक्ष) र उम्मेदवार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार महासेठले विगतमा धनुषा क्षेत्र नं. ४ को विकासका लागि आफूले खेलेको भूमिकाको स्मरण गराउँदै आगामी दिनमा अधुरा योजनाहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सडक, शिक्षा, स्वास्थ्य, सिँचाइ तथा रोजगारी सिर्जना जस्ता आधारभूत क्षेत्रमा थप लगानी र प्रभावकारी पहल गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो ।
“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” महासेठले भन्नुभयो, “विकास निर्माणका कामलाई निरन्तरता दिन र नयाँ योजनाहरू अघि बढाउन तपाईँहरूको साथ, सहयोग र मत आवश्यक छ । उहाँले निर्वाचनलाई विकास र स्थायित्वको पक्षमा जनमत अभिव्यक्त गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै अनिल कुमार चौधरीले धनुषा क्षेत्र नं. ४ मा पार्टी संगठन सुदृढ र सशक्त रहेको बताउनुभयो । उहाँले चुनाव प्रचार–प्रसार कार्यालयको स्थापना संगै अब गाउँ–टोलसम्म पार्टीको एजेन्डा व्यवस्थित रुपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चौधरीले भने “यो कार्यालय केवल चुनावी केन्द्र मात्र होइन, जनताको समस्या सुन्ने र समाधान खोज्ने थलो पनि हो । हामी जनताको घरदैलोमा पुगेर विकास, समृद्धि र स्थायित्वको सन्देश दिन्छौं ।
उम्मेदवार रघुविर महासेठको विगतको अनुभव र योगदानले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी निर्वाचनमा विजयी गराउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
चौधरीले पार्टीको स्पष्ट नीति, योजना र जनमुखी कार्यक्रम नै विजयको आधार हुने दाबी गर्दै कार्यकर्तालाई अनुशासित, सक्रिय र जिम्मेवार ढंगले प्रचार अभियान सञ्चालन गर्न निर्देशन दिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि पार्टीको संगठन सुदृढीकरण र क्षेत्रीय विकासका एजेन्डालाई जनतामाझ प्रभावकारी ढंगले पु¥याउनुपर्नेमा जोड दिएका थिए । उद्घाटनसँगै धनुषा क्षेत्र नं. ४ मा एमालेको चुनावी अभियान औपचारिक रुपमा तीव्र बनेको जनाइएको छ ।








