सर्लाही। सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले सम्हालेको छ ।
बिहीबार साँझ ५ बजेदेखि कारागारको बाह्य तथा आन्तरिक सुरक्षाको जिम्मेवारी सेनाले औपचारिक रूपमा लिएको हो ।



मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ सदस्यीय टोली कारागार सुरक्षार्थ खटिएको नेपाली सेनाले जनाएको छ ।
यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले सुरक्षा दिँदै आएको थियो ।
सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनाहरूमा सेना परिचालन गर्ने नीति लिइएको छ । सोही निर्णय कार्यान्वयनका क्रममा मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।
कालीध्वज गण पाँचकुमारीका गणपति उमेश खड्काका अनुसार सेनाको टोलीले आवश्यक समन्वय गरी जिम्मेवारी सम्हालिसकेको छ ।
उनले सरकारको निर्देशनअनुसार स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइएको बताए ।
कारागारको सुरक्षामा सेनाको उपस्थितिपछि सुरक्षा व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ ।




