जनकपुर – नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रम सुरू भएको छ।नेपाली काँग्रेसको सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यमा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिदै छ।सभापति थापा मंचमा उपस्थित भई सक्नु भएको छ।

प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति थापा सहित उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना भएको यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ।

मधेसको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन्।

मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार,समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात् गरेको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।













