फागुन २१ गते हुने गइरहेको प्रतिनिधि सभा चुनावका लागि तराई मधेस ‘इसपसेन्टर’ बनेको छ । मधेसको मत तान्नका लागि दलहरूले तराई मधेसका जनतालाई विभिन्न आश्वासन दिइरहेका छन् । घोषणपत्र, प्रतिज्ञता तथा प्रतिबद्धतापत्र मार्फत विभिन्न बाचाहरू गरिरहेका छन् ।
त्यसमा सबभन्दा अगाडि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी देखिएका छन् । दुवै दलले मधेसको मत तान्नका लागि विभिन्न उपाय निकालिरहेका छन् । दुवै दलले मधेसमा आमसभा गरिसकेका छन् । रास्वपाले उम्मेदवारी दर्ता गराउनु एकदिन अघि अर्थात् माघ ५ गते जनकपुरमा आमसभाको आयोजना गरेको थियो भने त्यसको ठिक एक महिनापछि अर्थात् फागुन ६ गते कांग्रेसले पनि प्रतिज्ञा सभा आयोजना गरेको थियो ।



दुवै पार्टीको ध्यान मधेस प्रदेशमै छ । मधेस प्रदेशको मत तान्ने नै सबभन्दा ठुलो पार्टी हुने बुझाइ दलहरूमा छ । त्यसैले ती दलहरूले आ–आफ्नो चुनावी घोषणापत्रमा तराई–मधेसलाई स्थान दिए । तराई मधेसमा के–के गर्ने, त्यहाँ कस्तो–कस्तो समस्या छ भन्ने कुरा घोषणापत्रमा उल्लेख गरेर मतदातामाझ उनीहरू गएका छन् ।
कांग्रेसको लागि ऊर्जाभूमि
२००७ सालको क्रान्तिदेखि नै मधेस नेपाली कांग्रेसको ऊर्जाभूमि र आधारभूमि रहेको स्मरण गर्दै कांग्रेसले मधेसको आत्मसम्मान, पहिचान, भाषा र संस्कृतिको सम्वर्धन गर्न भावनात्मक सम्बन्ध विकास गर्ने भनेको छ । कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा भनेको छ, ‘मधेसको आत्मसम्मान, पहिचान र अधिकारको रक्षा गर्दै समुन्नत मधेस निर्माण गर्नेछौं ।’
राज्यका हरेक अंग र पार्टी संरचनामा संविधानको भावनाबमोजिम समावेशी समानुपातिक सिद्धान्तका आधारमा सबै मधेसी जात–जाति, वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने भन्दै कांग्रेसले मधेस प्रदेशको पहिचान, भाषा, साहित्य, संस्कृति, कलालाई राष्ट्रिय सम्पदाको रूपमा विकास गर्ने प्रतिज्ञा गरेको छ ।
मधेस प्रदेशमा भयावह जल संकट छ । वन फँडानी, चुरे दोहनलगायत कारणले भूमिगत जलसतह निरन्तर घट्ने क्रमा छ । परम्परागत पोखरी, इनार र चापाकलहरू सुकेका छन् । मरूभूमीकरणको जोखिम बढेको छ । वर्षामा बाढी र हिउँदमा खडेरीको भयावह अवस्था तोड्न खोलाको पानी व्यवस्थापन र वर्षाको पानी संकलन गर्ने व्यवस्थालाई तत्काल लागु गर्ने कांग्रेसले प्रतिज्ञा गरेको छ ।
चुरे क्षेत्रमा व्यापक वृक्षरोपण गर्नुको साथै जथाभावी उत्खनन र डीप बोरिङ गर्ने कार्यलाई रोकेर पानीका मुहानहरूको वैज्ञानिक पुनर्जीवन एवम् सामुदायिक पानी संकलन केन्द्रहरू निर्माण गर्ने भनेको छ । कृषि क्षेत्र अहिले मल, बिउ, सिँचाइ र उचित भण्डारण र बजारको अभावले थला परेको अवस्थामा छ । मधेसको हरेक पालिकामा कृषि प्रशिक्षण, प्राविधिक ज्ञान र आधुनिक प्रविधिको पहुँच पुर्याउँदै सहुलियतपूर्ण ऋण र भण्डारण क्षमताको विकास गर्ने प्रतिज्ञा गर्दै कांग्रेसले कृषिमा आधारित रोजगारी सिर्जना गरी मधेसी किसानलाई आत्मनिर्भर बनाउने भनेको छ । मलको उत्पादन नेपालमै हुन सक्ने गरी तराईमा मल कारखाना स्थापना गर्ने भनेको छ ।
निःशुल्क स्वास्थ्य बिमा
तराई मधेसको हुलाकी राजमार्ग आसपास र दक्षिणी सीमा क्षेत्रलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने भन्दै कांग्रेसले मधेसका विपन्न दलित समुदायका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रतिज्ञा गरेको छ । मधेसका विपन्न, सीमान्तकृत, वञ्चितीकरण र बहिष्करणमा परेका समुदाय छुट भएको भए नामावली सूचीकृत गर्ने र सूचीकृत भएका समुदायले राज्यले उपलब्ध गराउने सामाजिक सेवा पाउन नसकेको भए आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध गरी अविलम्ब कार्यान्वयन गर्ने कांग्रेसले प्रतिज्ञा गरेको छ ।
कांग्रेसले तराई–मधेसलाई कृषि औद्योगिक करिडोर घोषणा गर्ने पनि भनेको छ । त्यस्तै, स्थानीय उत्पादनलाई मधेस ब्रान्डको रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने भनेको छ । अपाङ्गता भएका मधेसी दलित महिलाको उत्थान र विकासका लागि विशेष कार्यक्रम लागु गर्ने पनि भनेको छ ।
मधेसी महिलाको सक्रिय सहभागितामा मधेसको समग्र विकासका लागि उद्यमशीलता, समुदायको विकासको उद्देश्यले ‘मधेसकी माई’ कार्यक्रम सञ्चालन गर्ने भनेको छ । यसमा कृषि, पशुपालन, सेवा व्यवसायका लागि समुहमा सहुलियतपूर्ण ऋण, समुदायको विकासका लागि तालिम, पौष्टिक आहार वितरण तथा मौलिक मधेसी ज्ञान, कला, संस्कृति, रितिरिवाज प्रवर्धनका लागि विशेष कार्यक्रम लागु गर्ने भनेको छ ।
बेटी पढाऊ, बेटी बचाऊ
मुख्यमन्त्री स्वच्छता अभियानमार्फत धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण, पोखरी सरसफाई र मन्दिर परिसरको सौन्दर्यीकरण गरी स्वच्छता र पर्यटनलाई जोड्ने भनेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले बालिका शिक्षा र सशक्तीकरणलाई प्रदेशको दीर्घकालीन सामाजिक–आर्थिक विकाससँग जोडेको छ । जनकपुरधामसहित धार्मिक तथा सांस्कृतिक केन्द्रको विकासले प्रदेशको पर्यटन सम्भावनालाई नयाँ उचाई दिने भनेको छ ।
चुरे संरक्षण गर्ने, ड्रोनको प्रयोग गरी अभियानका रूपमा घाँस तथा बिउबीजन रोप्नुको साथै पाँच वर्षभित्र ‘चुरेमा हरियालीः मधेसमा खुशीयाली’ लक्ष्य हासिल गर्ने प्रतिज्ञा गरेको छ ।
चुरे तराईका नदीहरूलाई प्राकृतिक बहाव र जलचरमा असर नगरी व्यवस्थित तटबन्धमार्फत नियन्त्रण गर्ने भन्दै कांग्रेसले बाढीबाट खेती र बस्ती जोगाउनुको साथै तटबन्धलाई सडकको रूपमा विकास गरी तराई मधेसका सुदूर बस्तीहरूलाई यातायात सञ्जालसँग जोड्ने भनेको छ । तराईमा विद्यमान निरक्षरता हटाउन सघन कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।
आर्सेनिकमुक्त तराई अभियान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि तराई मधेसको चुरे संरक्षणलाई प्राथमिकतामा राखेको छ । तराई मधेसको अस्तित्वसँग जोडिएको चुरे क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकता दिई चुरेका ढुगां, गिट्टी र बालुवाको अनियन्त्रित दोहन रोक्ने बाचा गरेको छ ।
तराईका नदीहरू ढुंगा गिट्टीले भरेको कारण डुबानको जोखिममा छ । त्यसलाई कम गर्नका लागि ‘वैज्ञानिक उत्खनन तथा निर्यात कार्यविधि’ लागु गर्ने रास्वपाले बाचा गरेको छ । ‘एकीकृत चुरे संरक्षण प्राधिकरण’ लाई स्थानीय, प्रदेश र संघको साझा जिम्मेवारीसहित थप अधिकार सम्पन्न बनाई चुरे संरक्षणलाई जनस्तरसम्म पुयाउने र चुरेका अति संवेदनशील क्षेत्रहरूलाई ‘पूर्ण संरक्षित क्षेत्र’ घोषणा गर्ने भनेको छ ।
तराईका प्रमुख सहरहरूसम्म सहायक मार्गहरूसहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिने बाचा गर्दै रास्वपाले तराईका विभिन्न जिल्लाहरूमा देखापरेको आर्सेनिकको गम्भीर जनस्वास्थ्य संकटलाई राष्ट्रिय संकटको रूपमा लिई आर्सेनिकमुक्त तराई अभियान सुरु गर्ने बाचा गरेको छ ।
मान्छे नयाँ, सोच पुरानै
तर कांग्रेसका यी दस्ताबेज मधेसलाई झुक्याउनेबाहेक अरू केही नभएको सिरहा वरिष्ठ पत्रकार चन्द्रदेव कामत बताउँछन् । भन्छन्, ‘कांग्रेसले बोतल मात्रै फेरेको छ दारु (रक्सी) उही छ भने कुरा मधेसका जनताले थाहा पाइसकेका छन्, गगन थापालाई प्रधानमन्त्रीको रूपमा सार्नु मधेसका लागि नौलो कुरा होइन, किनभने यसअघि कांग्रेसका धेरै प्रधानमन्त्री मधेसले देखिसकेको छ । गगन नै प्रधानमन्त्री भएपछि खासै केही गर्लाजस्तो मधेसी जनतालाई छैन ।’
कांग्रेस र रास्वपाले मधेसमा गरेको बाचा र प्रतिज्ञा कार्यान्वयन हुन्छ भन्ने आफूलाई नलागेको उनको भनाइ छ । ‘त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, तर संविधान संशोधनका लागि कुनै पनि दल सकारात्मक देखिएनन्,’ उनी भन्छन्, ‘संविधान संशोधन गरेर समस्या समाधान गरे देशमा यो अवस्था आउने नै थिएन ।’ दलहरूले मधेसलाई फकाउने उपाय मात्र लगाएको उनको कामतको बुझाइ ।
त्यस्तै पर्साका अधिवक्ता वीरेन्द्र यादवले पनि मधेसमा कांग्रेस र रास्वपाले गरेका प्रतिबद्धता जनताले चाँडै विश्वास गर्न नसक्ने बताए । ‘जेनजी आन्दोलन र त्यसपछि रास्वपाले गरेका गतिविधि जनतालाई थाहै छ, रवि लामिछाने आन्दोलनका क्रममा जेलबाट निस्किनु र फेरि जेलमा जानु, पछि सरकार बनेपछि एकाएक जेलबाट रिहा हुनुलाई जनताले निकै गम्भीर रूपमा हेरेका छन्,’ यादव तर्क गर्छन् ।
रास्वपाले पछि पनि यस्तो गर्दैन भन्ने ग्यारेन्टी नभएकाले यसबारे प्रश्न उठिरहेको उनको भनाइ छ । यद्यपि रास्वपाप्रति अहिले जनलहर बढेको र एकपटक जनताले नयाँलाई हेर्ने उनले बताए । ‘काग्रेसलाई त मधेसी जनताले ७० वर्षदेखि हेरिरहेकै थिए,’ उनले भने ।
गगनलाई कांग्रेसले अघि सारे पनि पार्टीको विचार र सिद्धान्त उही रहेकाले सबै नेता उही हुन् भन्ने मधेसमा परेको पनि उनले बताए । ‘मधेसमा यसरी कसरी परिवर्तन कसरी सम्भव हुन सक्छ ?’ उनले तर्क गरे । मधेसी जनता पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।




