महोत्तरी – प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा ध्वनि प्रदूषण नियन्त्रणका लागि महोत्तरी जिल्लामा डीजे–साउन्ड सिस्टम, ठूला लाउडस्पीकर र अन्य ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा पूर्ण रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार जारी गरेको सूचना अनुसार, सार्वजनिक स्थल, जुलुस, र्याली तथा आम सभामा डीजे प्रयोग गर्न नपाइनेछ। प्रशासनले जनाएको छ कि, फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा प्रचारप्रसार तीव्र बन्दै गएसँगै ध्वनि प्रदूषण बढेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।



सूचनामा उल्लेख छ कि अत्यधिक ध्वनिले विद्यार्थीको अध्ययनमा असर पार्ने, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा समस्या उत्पन्न गर्ने र सामाजिक शान्ति र सद्भावमा प्रतिकूल असर पार्ने सम्भावना रहेको छ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गर्दै फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लागू हुने प्रशासनले जनाएको छ। आदेश उल्लङ्घन भएमा सम्बन्धित उपकरण जफत गरिने र कानून अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रशासनले राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सर्वसाधारणसँग निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पूर्ण सहयोगको अपेक्षा गरेको छ।






