महोत्तरी - महोत्तरीको औरहीका मुसहर समुदायले आफ्नो कुल देवता ‘भूमियाँ महाराज’को पूजा तातो दूधले स्नान गर्दै हर्षोल्लासका साथ मनाएका छन्।
औरही नगरपालिका–२ औरहीस्थित मुसहर समुदायले परम्परागत ‘अपतौली पूजा’ अन्तर्गत सोमबार विधिपूर्वक भूमियाँ बाबाको आराधना गरेका हुन्। भाकल मानेका श्रद्धालुले हरेक वर्षझैं यस वर्ष पनि परम्परागत हिन्दू शास्त्रअनुसार पूजा आयोजना गरेका थिए। उम्लिरहेको दूधबाट स्नान गर्ने परम्परा सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्ने भए पनि तराई–मधेस क्षेत्रका मुसहर समुदायमा यो प्राचीन धार्मिक संस्कृतिका रूपमा रहँदै आएको छ।

पूजास्थलमा फूल, प्रसाद, परेवा, तपाउन (रक्सी), पान, सुपारीसहित दुईवटा भाँडामा दूध राखी आगोमा उमालिन्छ। त्यसपछि तीन जना मूल धामी (झाँक्री)ले उम्लिरहेको दूधबाट स्नान गर्ने प्रचलन रहेको छ। ढोल, करताल, घुँघुरलगायतका लोपोन्मुख परम्परागत बाजागाजाको धुनमा ‘महराई’ लोकगीत गाउँदै धामीहरूले तातो दूध शरीरमा खन्याउने दृश्यले पूजास्थललाई विशेष बनाएको थियो।

पूजामा सहभागी महिलाहरू टोली बनाएर महराई गीत गाइरहेका देखिन्थे भने धामीबाट आशिष ग्रहण गर्न श्रद्धालुहरूको बाक्लो उपस्थिति थियो। मुसहर समुदायकी ललिता सदाका अनुसार मुसहरहरू आफूलाई भूमियाँ महाराजको सन्तति मान्दै आएका छन्। भूमियाँ महाराजले मनोकामना पूरा गरिदिएकाले अपतौली पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

स्थानीय लाख्नु सदाले भूमियाँ महाराजले आफ्नो मनोकामना पूरा गरेपछि कबुलअनुसार पूजा गरिएको बताए।परम्पराअनुसार ‘दीना–भद्री’का नामबाट चिनिने भूमियाँ महाराज दुई दाजुभाइ थिए। उनीहरूको जन्म सप्तरी जिल्लाको तत्कालीन नेगारा गाविसअन्तर्गत जोगिया जाजर क्षेत्रमा भएको बताइन्छ। छैटौँ शताब्दीमा मुसहर समुदायमाथि भइरहेको अत्याचारविरुद्ध प्रतिकार गर्ने क्रममा उनीहरूको मृत्यु भएको इतिहासमा उल्लेख छ।

मुलुकका आदिवासी समुदायमध्ये मुसहर जाति अझै पनि गरिबी र अशिक्षाको चपेटामा परे पनि उनीहरूको छुट्टै पहिचान र मौलिक सांस्कृतिक परम्परा रहेको जानकारहरू बताउँछन्। चिसो मौसममा तातो पानीले नुहाउनु सामान्य भए पनि उम्लिरहेको दूधबाट स्नान गर्दै पर्व मनाउने मुसहर समुदायको यो परम्परा सांस्कृतिक दृष्टिले विशिष्ट मानिन्छ।

सोमबार औरही नगरपालिका–२ मा सामूहिक समारोहका साथ तातो दूधमा स्नान गर्दै भूमियाँ महाराजको पूजा सम्पन्न गरिएको थियो। वर्षौँदेखि निरन्तर हुँदै आएको यो परम्पराले मुसहर समुदायको आस्था, संस्कृति र पहिचानलाई उजागर गरेको छ।
भिडियो :

























