जनकपुरधाम- मिथिला नाट्यकला परिषद् (मिनाप) ले हरेक वर्ष झैं यस वर्ष पनि जनकपुरधाममा दुई दिवसीय ‘होरी महोत्सव’ र ‘महामूर्ख सम्मेलन’ आयोजना गर्ने भएको छ ।
परिषद्ले फागुन १६ गते शनिबार होरी महोत्सव र फागुन १७ गते आइतबार महामूर्ख सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ ।



मिनापका अध्यक्ष सुनिल मलिल्कले होरी महोत्सवमा सहभागी हुन इच्छुक होरैया टिमहरूलाई आ–आफ्नो टिमको नामावलीसहित परिषद्सँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
उनले भने,’मिथिलाञ्चलको मौलिक सांस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्ने तयारी भएको छ । यसले स्थानीय प्रतिभालाई प्रस्तुत गर्ने प्लेटफर्म मात्र नभई सांस्कृतिक चेतना फैलाउने माध्यमको रूपमा पनि काम गर्नेछ ।’
फागुन १६ गते आयोजना हुने होरी महोत्सवमा विभिन्न होरैया टिमहरूको सहभागिता रहनेछ । यस वर्षको महोत्सवले विशेष रूपमा सांस्कृतिक विविधता, स्थानीय संगीत, नृत्य, रंग र हास्य–व्यंग्यका प्रस्तुतिमार्फत जनताको सहभागिता बढाउने लक्ष्य राखेको छ ।
मलिल्कका अनुसार हरेक टिमलाई आफ्नो मौलिक प्रस्तुति तयार पारेर आउने अवसर दिइनेछ । यसरी कार्यक्रमले समुदायलाई एकताबद्ध गर्ने साथै मिथिला संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
त्यस्तै, फागुन १७ गते सम्पन्न हुने ‘महामूर्ख सम्मेलन’मा हास्य–व्यंग्यका प्रस्तुति, व्यंग्यात्मक वक्तव्य, रंगीन प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश रहनेछ ।
अध्यक्ष मलिल्कले सम्मेलनको उद्देश्यलाई स्पष्ट गर्दै भने, ‘महामूर्ख सम्मेलनले मनोरञ्जन मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने एक माध्यमको रूपमा काम गर्दै आएको छ । यसले सामाजिक व्यवहार, राजनीतिक चेतना र सांस्कृतिक मूल्यहरूको बारेमा सोच्न बाध्य बनाउँछ ।’
यस सम्मेलनले विगतमा राजनीतिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तिहरूलाई ‘महामूर्ख’को उपाधि प्रदान गर्दै आएको छ ।
विगतका महामूर्ख उपाधिधारीहरू
वि.सं. २०६१ सालदेखि सुरु भएको महामूर्ख सम्मेलनमा विगतमा उपाधि पाउनेहरूमा मैथिली कवि नरेश ठाकुर (२०६१), तत्कालीन नेकपा एमालेका नेता शीतल झा (२०६२), तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी (२०६३), तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा (२०६४), वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल (२०६५), पूर्वमन्त्री रामचन्द्र झा (२०६६), नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल (२०६७), साहित्यकार रामभरोष कापडि भ्रमर (२०६८), नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव (२०६९), डा. विजयकुमार सिंह (२०७०), उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो (२०७१), आधुनिक स्वर्गद्वार निर्माणकर्ता पवन सिंघानीया (२०७२), तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल (२०७४), जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह (२०७५), मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत (२०७६) , महजोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (२०७७) रहेका छन् ।
त्यस्तै, अर्थविद् डा. भोगेन्द्र झा (२०७८), जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह (२०७९), सभामुख रामचन्द्र मण्डल (२०८०) र मुख्यमन्त्री सतिश कुमार सिंह (२०८१) लाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
२०७३ सालमा भने सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव स्थगित गरिएको थियो ।
मिनापले प्रत्येक वर्ष आयोजना गर्ने महोत्सव र सम्मेलनले जनकपुरधाम र मिथिलाञ्चलमा सांस्कृतिक चेतना फैलाउने, स्थानीय कला–साहित्यको संरक्षण गर्ने र सामुदायिक एकतालाई सुदृढ बनाउने भूमिका खेलेको दाबी गरेको छ ।
अध्यक्ष मलिल्कले भने, ‘हामीले यो परम्परा निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई संस्कृति र परम्पराप्रति सचेत बनाउन जोड दिन्छौं । कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सामाजिक र सांस्कृतिक चेतना जगाउने र मनोरञ्जनको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ ।’
मिनापको योजना अनुसार यस वर्षको कार्यक्रम अझ भव्य र व्यवस्थित रूपमा आयोजना गरिनेछ ।
कार्यक्रममा स्थानीय कलाकार, सांस्कृतिक समूह, विद्यार्थी र सर्वसाधारणको व्यापक सहभागिता रहने विश्वास गरिएको छ ।




