महोत्तरी – मधेस प्रदेश, विशेष गरी महोत्तरी जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बदर मत घटाउने उद्देश्यसहित मतदाता शिक्षा अभियान सञ्चालन भइरहेको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघ (National Federation for Right to Information) द्वारा आयोजना गरिएको यस अभियानले स्थानीय नागरिकमा सकारात्मक प्रभाव पार्न थालेको छ।

महोत्तरीका विभिन्न दलित र सीमान्तकृत बस्तीहरूमा युवा–युवतीले गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदाता शिक्षा दिइरहेका छन्। मतपत्रमा चिन्ह लगाउने तरिका, मत कसरी हाल्ने र के गर्दा मत बदर हुन्छ भन्ने विषयमा नागरिकलाई व्यवहारिक जानकारी दिइएको छ।




अभियानमा सिकाउन सक्रिय रहेका बबिता यादवले समुदायमा अझै पनि मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुने बताइन्। “धेरै मतदाताले सही तरिकाले मत हाल्न थाहा पाउँदैनन्, तर प्रत्यक्ष बुझाइ पछि उनीहरू चासोका साथ सिक्छन्,” उनले भनिन्।

देवराज यादवले निरक्षरता र राजनीतिक भ्रम ठूलो चुनौती भएको बताए। “चित्र र उदाहरण प्रयोग गर्दा बुझाउन सजिलो हुन्छ, तर कतिपय स्थानमा अफवाहका कारण मतदाता अलमलमा पर्छन्,” उनले उल्लेख गरे।

सलिता यादवले भने महिलाहरू घरायसी कामको कारण कार्यक्रममा समय दिन नसक्ने समस्या रहेको बताइन्। “पहिले यसरी गाउँ–गाउँमा आउँदासम्म कसैले हामीलाई सिकाएको थिएन। अहिले भने राम्रोसँग बुझ्न पाएको छु,” उनले भनिन्।

गुल्सता प्रवीणले कतिपय मतदातामा ‘मेरो एक मतले के फरक पर्छ र’ भन्ने सोच रहेको बताउँदै स्थानीय बोली प्रयोग गर्दा सिकाउन सहज भएको अनुभव साझा गरे।अभियानले स्थानीय नागरिकमा मतदानप्रतिको आत्मविश्वास बढाएको छ।
औरही नगरपालिका–२ निवासी ४५ वर्षीया ललिता सदाले, “पहिले मत हाल्दा अन्योल हुन्थ्यो, तर अब सही तरिकाले मत हाल्न सकिन्छ भन्ने विश्वास जागेको छ,” बताइन्।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ, महोत्तरी जिल्ला अध्यक्ष धर्वेन्द्र कुमार यादवले भने,विगतका निर्वाचनमा महोत्तरीमा बदर मतको संख्या उच्च रह्यो।यदि गाउँ–गाउँमा नागरिकलाई स्पष्ट रूपमा मतदान प्रक्रिया बुझाइयो भने यसलाई घटाउन सकिन्छ।अध्यक्ष यादवका अनुसार अभियानले दलित, सीमान्तकृत र पिछडिएका समुदायमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।
आगामी निर्वाचनमा बदर मत घटाउन र नागरिकको प्रभावकारी सहभागिता सुनिश्चित गर्न अभियान निरन्तरता दिइनेछ।मतदाता शिक्षा अभियानले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने र हरेक मतको महत्व सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।




