सिरहा - गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–३ का उमेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कोरपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो ।
जाँचका क्रममा गाडीबाट चार लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले बताए ।
यादव तत्कालीन संघीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । रासस




