मातृका यादव नेपाली राजनीतिको एउटा यस्तो विद्रोही पात्र हुन्, जो जति पटक चर्चाबाट ओझेल पर्न खोज्छन्, त्यति नै पटक पुनः चर्चामा आउँछन्।
कुनै समय माओवादी आन्दोलनका कट्टर वैचारिक खम्बाका रुपमा चिनिने नेपाली कम्युनिस्ट पार्टीका नेता यादव लामो समयदेखि गुमनाम थिए। उनी यसपटक चुनाव लड्ने मुडमै थिएनन्। तर, यस्तो अवस्था आयो कि उनले धरै पाएनन्।



नचाहँदा–नचाहँदै चुनाव लडेका उनी मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहरका बीच धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। र, मधेसमा नेकपाको बिउ जोगाएका छन्।
अहिलेसम्म प्रत्यक्षतर्फ तीन पटक चुनाव लडेका उनी दुई पटक निर्वाचित हुँदा एक पटक पराजित भएका छन्।
अघिल्लो चुनावमा उनी यही क्षेत्रमा कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार हुँदा पराजित भएका थिए। २०७४ मा एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धनमा उनले जित निकालेका थिए।
‘म प्रत्यक्षबाट दोस्रो पटक संसदमा पुगेको छु,’ उनले भने, ‘यसपटक चाहिँ कानुन र जनताको जित भएको छ।’
यसपटक पार्टी थप एकताबद्ध हुँदा आफ्नो पक्षमा नतिजा आएको उनी बताउँछन्।
‘मैले मात्र गरेको होइन, आम समर्थक कार्यकर्ता सबैले गर्नुभयो,’ मातृकाले थपे, ‘जनताले गरेको आश र विश्वास मेरो लागि ठूलो चुनौती हो, त्यसलाई पूरा गर्न प्रतिबद्ध रहन्छु। यो चुनौतीलाई स्वीकार्दै अवसरमा परिणत गर्ने अभियान चलाउँछु।’
रास्वपाको उम्मेदवारी खारेजीमा परेपछि
अघिल्लो पटकको चुनावमा कांग्रेससहितको गठबन्धन हुँदा समेत पराजित भएको पीडा त छदैँथियो, मधेसमा यसपटक रास्वपाको हावा चलेको यादवले मेसो पाइसकेका थिए।
त्यही भएर उनले प्रतिनिधि सभाको चुनावको कुनै तयारी गरेनन्। न त गाउँ छिर्ने तारतम्य नै मिलाए।
तर, धनुषा जिल्ला पार्टी कमिटीले धनुषा क्षेत्र नम्बर १ बाट उनको नाम सिफारिस ग¥यो। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई चुनाव लड्न दबाब दिए। जसकारण चुनाव नलड्ने अडानमा उनी लामो समय टिकिरहन सकेनन्।
‘मैले दुई वर्षदेखि नै चुनाव लड्दिनँ भनेको थिएँ,’ उनले थपे, ‘सधैँ किन लड्नु, नयाँ उठाउने र फिल्डमा बसेर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने मेरो सोच थियो। तर, यहाँका साथीहरूले पनि एकमतले पारित गरेर मेरै नाम सिफारिस गरेर पठाइदिनुभयो, हाम्रो पार्टी संयोजकले पनि चुनाव लड्नैपर्छ भनेपछि उठ्नैप¥यो।’
उनी उम्मेदवारी मनोनयन दर्ताको पाँच दिनअघि मात्र धनुषा ओर्लिए। तर, यसपटक मधेसमा बालेन शाहको क्रेज बढिसकेको थियो।
परम्परागत पार्टी र तिनका पुराना अनुहारप्रति मधेसका युवा मौन विद्रोह गर्ने मुडमा थिए। तैपनि यादवले उम्मेदवारी दिए। आफ्नो संगठनलाई एकताबद्ध पारे। युवालाई समेटेर टिम बनाए अनि होमिए चुनावी प्रचारमा।
नेकपाले यसपटक कोहीसँग गठबन्धन गरेको थिएन। यो चुनौतीलाई मातृकाले सहज रुपमा लिए। नसकिने कुरा गरेनन्। विस्तारै आफ्नो पक्षमा माहोल बढ्न थाल्यो। यही कुरा उनले पार्टी संयोजक प्रचण्डलाई सुनाए। नेकपाले चुनाव जित्ने सूचीमा धनुषा १ लाई राख्यो। यद्यपि, यो क्षेत्रमा रास्वपाको प्रभाव निकै राम्रो थियो। तर, रास्वपाका उम्मेदवार विवादास्पद छविका थिए।
मतदान हुनु दुई दिनअघि निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साह कालो सूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदियो। जसको फाइदा मातृकाले पाए।
यद्यपि, रास्वपा उम्मेदवार किशोरीलाई पनि मत परेको छ। जसलाई आयोगले छुट्टै गणना गरेको छ।
मतपत्रमा घण्टी चिन्ह कायमै रहेकाले धेरै मत त्यहाँ परेको आयोगको भनाइ छ। तर, किशोरी सर्वाेच्च पुगेका छन्। सर्वाेच्चले फागुन २९ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ।
सोही कारण आयोगले परिणाम घोषणा गर्न एक दिन रोक्यो। तर, सोमबार साँझ नेकपाका मातृका यादव निर्वाचित भएको भन्दै निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ।
उनले १०,४३० मत प्राप्त गरेको आयोगले सुनाएको छ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामपल्टन साहले ९,५०२ मत पाए। नेकपा एमालेका रामचन्द्र मण्डलले ९,३१५ मत प्राप्त गरे। घोषणासँगै यादवले नेकपालाई मधेसबाट शर्मनाक हार हुनबाट जोगाएका छन्।
तर, उनी अब कम्युनिस्ट आन्दोलनको समीक्षा गर्नुपर्ने अवस्था बनेको बताउँछन्।
‘हामी समीक्षा गर्छाैँ। समाजवादी क्रान्तिको मलिलो आधार नेपालमै छ। त्यो सम्भव पनि छ। सबै शक्तिहरू एकजुट हुनुपर्छ,’ उनले थपे।
सधैँ विद्रोही मातृका
२०१५ असोज ३० मा धनुषाको सवैलामा जन्मिएका यादवको राजनीतिक यात्रा २०३४ सालबाट सुरु भएको हो। उनले त्यही बेला नेकपा चौथो महाधिवेशनको सदस्यता लिएर राजनीति थालेका हुन्।
२०३५–३६ को पञ्चायत विरोधी आन्दोलनमा उनी सिरहा क्याम्पसमाबाट सहभागी भए। पछि सोही क्याम्पसमा उनी दुई कार्यकाल स्ववियु सभापति चुनिए। मातृका २०५१ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बने। २०५२ देखि माओवादीले जनयुद्ध थाल्यो। युद्धका क्रममा उनी पटकपटक पक्राउ परे। आफूले ९ वर्ष जेल जीवन बिताएको उनी बताउँछन्।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनी २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्य बने। २०६४ को पहिलो संविधानसभामा उनी समानुपातिक सूचीबाट सभासद चुनिए। र, गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदमा वनमन्त्री बने। त्यतिबेला ललितपुरमा सञ्चालित ढुंगाखानी बन्द गर्न दिएको निर्देशन नमानेको भन्दै उनले एलडीओलाई ट्वाइलेटमा थुनेर उनी विवादमा परे। लगत्तै, प्रधानमन्त्री कोइरालासँगको विवादका कारण उनले राजीनामा दिए।
०६४ मा बनेको प्रचण्ड नेतृत्वको सरकारमा फेरि यादवले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी पाए। तर, सरकारबाट आफूलाई काममा सहयोग नभएको भन्दै राजीनामा दिए। यसपटक उनी यतिमै रोकिएनन्, माओवादी पुनर्गठन गर्ने भन्दै पार्टीबाटै अलग भएको घोषणा गरे।
०६५ माघ २९ गते उनले नेकपा माओवादी बनाए। जसकारण २०७० को दोस्रो संविधान सभाको चुनावमा उनले भाग लिएनन्। ०७३ जेठमा फेरि प्रचण्डसँग पार्टी एकता गरे।
२०७४ मा एमाले र माओवादी गठबन्धनबाट उनले धनुषा १ बाट चुनाव जितेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाएका थिए।





