महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–२ बरदाहास्थित फैजुल गुर्वा मदरसा आधारभूत विद्यालयको नयाँ आरसीसी पक्की भवन निर्माण कार्यको आज शिलान्यास गरिएको छ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले एक कार्यक्रमबीच भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो। सो अवसरमा उहाँले शिक्षा बिना समाज सुधार सम्भव नरहेको उल्लेख गर्दै शिक्षाको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।




मटिहानी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन करिब रु ८६ लाख ८७ हजारको लागतमा निर्माण गरिनेछ। नगरपालिकाका इन्जिनियर बिमलेश साहका अनुसार विद्यालयका लागि चार कोठे आरसीसी पक्की भवन निर्माण गरिनेछ, जसले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नयाँ भवन निर्माणले विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण उपलब्ध हुने अपेक्षा गरिएको स्थानीयवासीले बताएका छन्।शिलान्यास कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष मोहम्मद रयुफ, वडा नं. ३ का वडाध्यक्ष नाजिर मियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन यादव, मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीशकुमार मिश्र, विद्यालयका प्रधानाध्यापक ज्याबुल हक लगायतको उपस्थिति रहेको थियो।

यसैगरी मटिहानी नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय अगुवा मन्जुर शेख तथा स्थानीयवासीको समेत उल्लेखनीय सहभागिता रहेको थियो।














