महोत्तरी – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेपछि वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।
रास्वपाले निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। सोहीअनुसार पार्टीले उनकै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको जनाएको छ।



सरकार गठनका विषयमा राजधानीस्थित रोयल सिंगी होटलमा रास्वपा नेताहरूबीच छलफल भएको थियो। छलफलपछि सांसदहरूको शपथ ग्रहण लगत्तै प्रधानमन्त्रीको शपथ गर्ने टुंगो लागेको हो।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएका छन्।
यसअघि संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम निर्धारण गरेको छ। त्यसलगत्तै सरकार गठन प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ।





