औरही,महोत्तरी – चैती छठ पर्वको तेस्रो दिनसँगै महोत्तरी जिल्ला का विभिन्न स्थानमा तयारी तीव्र पारिएको छ। विशेषगरी औरही नगरपालिका–१ स्थित महादेव पोखरीमा छठ घाटहरूको सरसफाइ, निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको छ।
सूर्य भगवानको आराधना गरी मनाइने आस्थाको महान् पर्वलाई लक्षित गरी स्थानीयवासीहरू उत्साहपूर्वक जुटेका छन्। बालबालिकादेखि वृद्धसम्मका सर्वसाधारण घाट व्यवस्थापन तथा पूजा स्थल सजावटमा सक्रिय देखिएका छन्। सो क्षेत्रमा झन्डै सयौँ पूजा कक्ष निर्माण गरिएको स्थानीयवासी रामनारायण साहले जानकारी दिनुभयो।




निर्मित पूजा स्थलहरू टेन्ट, बत्ती, झिलिमिली तथा रङ्गीचङ्गी मालाले सुसज्जित पारिएका छन्। साथै सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि ठूलो पण्डालसमेत निर्माण गरिएको छ।
यसैबीच, औरही नगरपालिका–१ हुँदै बग्ने जङ्गहा खोलामा विगतमा कार्तिक तथा चैती छठका अवसरमा जेसीबी प्रयोग गरी पानी व्यवस्थापन गरेर पर्व मनाउने गरिएको थियो। तर पछिल्ला वर्षहरूमा खोला सुक्दै जानुका साथै यस वर्ष गौशाला नगरपालिका–१ रामनगर स्थित पेपर मिलबाट निस्किएको फोहोर पानी मिसिँदा थप प्रदूषण बढेको स्थानीयवासीले जनाएका छन्।
खोला प्रदूषित भएपछि यस वर्ष व्रतालुहरूले महादेव पोखरीमै छठ पर्व मनाउने तयारी गरेका छन्। करिब १५० भन्दा बढी घरपरिवार एकै स्थानमा भेला भई पर्व मनाउने जनाइएको छ।
फोटोहरु



















