महोत्तरी- जेन–जी आन्दोलनका क्रममा जलेश्वर कारागारबाट भागेका हत्याका एक दोषी हाल सम्म पक्राउ पर्न सकेको छैन । दोषी व्यक्ति खुला रूपमा फरार रहिरहँदा पीडित परिवारमा त्रास र अन्यायको अनुभूति बढेको छ। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४, रतवारा निवासी २२ वर्षीया अनु रायको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद तथा ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय पाएका सर्लाहीको चक्रघाटा गाउँपालिका–९, खोरियाका मन्दीपकुमार यादव हालसम्म फरार रहेका छन्।
जिल्ला अदालत महोत्तरीबाट सजाय तोकिए पनि मन्दीप हालसम्म पक्राउ नपरेको प्रहरी स्रोतले जनाएको छ। मृतक अनु रायसँग प्रेम सम्बन्धमा रहेको बताइने यादवले वि.सं. २०८१ असोज २२ गते राति बर्दिबास नगरपालिका–५, टुटेश्वरस्थित जंगल क्षेत्रमा उनको हत्या गरी फरार भएको थियो । प्रहरीले यादवलाई २०८१ मंसीर ३० गते प्रहरीले गरेको थियो भने २०८१ पुस २८ गते पुर्पक्षको लागि जिल्ला अदालत महोत्तरीले थुनामा पठाएको थियो ।



घटनापछि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका यादव जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते जलेश्वर कारागार बाट अन्य कैदीबन्दीहरुसँगै फरार भएको थियो । त्यसयता उनको खोजी जारी रहे पनि हालसम्म पक्राउ पर्न नसकेको जनाइएको छ। उनि फरार रहेकै अवस्थामा जिल्ला अदालत महोत्तरीको पेशी चढेको यो मुद्दामा उनलाई दोषी ठहर गर्दै मिति २०८२ माघ २१ गते जन्मकैद तथा ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजायको फैसला गरेको थियो र यसको प्रमाणीकरण २०८२ चैत्र १५ गते भएको थियो । पीडित परिवारले भने दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ। मृतकका पिता रामविनेश रायले छोरीको हत्या भइसकेपछि हत्यारा पक्राउ परे पनि अन्ततः कारागारबाट भाग्न सफल भएकाले न्याय नपाएको महसुस भइरहेको बताउनुभयो।
उहाँले हत्यारालाई यथाशीघ्र पक्राउ गरी पुनः कारागारमा राख्न सम्बन्धित निकायसँग अनुरोध गर्नुभएको छ। उहाँका अनुसार दोषी व्यक्ति खुला रूपमा फरार रहिरहँदा पीडित परिवारमा त्रास र अन्यायको अनुभूति झन् बढेको छ। “हत्यारालाई कानुनले सजाय नदिएसम्म छोरीले न्याय पाउँदिन,” उहाँको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय महोत्तरी ले आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरूको खोजतलास तीव्र पारिएको जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले फरार अभियुक्तहरूलाई पक्राउ गर्ने कार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो। उहाँले विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई प्राथमिकताका साथ खोजी भइरहेको उल्लेख गर्दै दैनिक रूपमा केही फरार अभियुक्तहरू पक्राउ पर्दै आएको बताउनुभयो।
साथै, मन्दीपकुमार यादवलाई पनि चाँडै पक्राउ गरिने विश्वास व्यक्त गर्नुभयो। यस घटनाले कारागार सुरक्षा, आन्दोलनका बेला कैदी व्यवस्थापन तथा न्यायिक प्रक्रियाको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। सरोकारवालाहरूले फरार अभियुक्तको शीघ्र पक्राउसँगै यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा सुरक्षा व्यवस्थाको आवश्यकता औँल्याएका छन्।















